हेटौंडा उपमहानगरको नगरसभामा लफडा भएपछि स्थगित

बाइलाइन नेपाल
१० असार २०७९, शुक्रबार १७:२३

हेटौंडा । मकवानपुरका नौ वटा पालिकाले आज (शुक्रबार) नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । तर वाग्मती प्रदेशकै एकमात्र उपमहानगरपालिकाले भने बजेट ल्याउन सकेन् ।

जिल्लाको थाहा नगरपालिकासहित अरु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । तर पालिकामा बहुमत सदस्य रहेको नेकपा एमालेका जनप्रतिनिधिका कारण हेटौंडा उपमहानगरपालिकाको नगरसभामा नै स्थगित भएपनि बजेट ल्याउन नसकेको हो ।

बिहान १० बजेका लागि बोलाइएको ११औं अधिवेशनमा एमालेबाट निर्वाचित नगरसभा सदस्य उपस्थित भए पनि हस्ताक्षर नगरेपछि शुक्रबार नगरसभाको बैठक स्थगित गरिएको हो ।

हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा नगरसभाको बैठक बोलाइएको थियो । बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसेका थिए । एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकबाटै असहयोग गरिरहेको छ ।

एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५ (२) र १५ (३)  मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ । एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै विरोधसमेत गर्दै आएको थियो । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् ।

वाग्मती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*