कैलाशका किसानलाई पालिकाले दियो कृषि सामग्री

हेटौंडा । कैलाश गाउँपालिकाले स्थानीय कृषक समूहका किसानहरुलाई कृषि सामग्री वितरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई कृषि सामग्री दिइएको हो ।
पालिकाले मिनी ट्रिलर १३ वटा, अदुवा पिस्ने मिल ६ वटा, विषादी छर्कने इलेक्ट्रिक पम्प २० वटा र डिजिटल तराजु २ वटा किसान समूहलाई हस्तान्तरण गरेको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष वालकुमार मल्ल ठकुरीले आज किसानहरुलाई उक्त कृषि सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
अदुवा पकेट क्षेत्र कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि ज्ञान केन्द्र चितवनले कृषि सामगिहरु वितरण गर्न १५ लाख रुपैंया बजेट उपलब्ध गराएको थियो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसानले व्यहोर्नेगरी उक्त कृषि सामग्रीहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले जानकारी दिए । आगामी दिनमा मागका आधारमा अरु किसानहरुलाई पनि कृषि सामग्रि उपलब्ध गराउँदै जाने योजना रहेको पालिकाका उपाध्यक्ष बालकुमार मल्लले जानकारी दिए ।