जिसस मकवानपुरमा गठबन्धन र एमाले भिड्ने
हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको २०७९ असार २ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । जिससमा पनि गठबन्धन दल र नेकपा एमाले बीच प्रतिष्प्रर्धा हुने भएको छ ।
आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनले कार्यसूची रहेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख उपप्रमुख र ७ सदस्यका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन्।
प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले मनोनयन दर्ता गराएका छन् । उनी हालै सम्पन्न स्थानीय निर्वाचनबाट हेटौंडा १२ को वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै प्रमुख पदमा नेकपा एमालेबाट र्इन्द्रसरोवरका बुद्धिराम डिम्डुङले मनोनयन गराएका छन् ।
उपप्रमुख पदमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सानुकाजी लुइँटेलले मनोनयन गराएका छन् । सो पद अरु उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै जिससमा ३ जना महिला सदस्य रहने प्रावधान रहेकोमा ४ जनाले मनोनयन दर्ता गराएपछि सो पदका लागि निर्वाचन हुने भएको छ । महिला सदस्य पदमा नेपाली कांग्रेसबाट क्रमश तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ र नेकपा एमालेकी बिनाकुमारी थिङ लामाले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । अन्य खुल्ला सदस्यहरुमा नेकपा एकीकृत समाजवादीबाट विरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रका सुवर्ण गोपाली माओवादीकै खड्गबहादुर पुलामी र एमालेका तोयानाथ तिमल्सिनाले उम्मेदवारी दिएका हुन् । खुल्ला सदस्य ३ जना हुने व्यवस्था भएपनि ४ जनाको उम्मेदवारी परेकोले सो पदमा पनि निर्वाचन हुने भएको हो ।
भोलि ३१ गते मनोनयन दर्ता गराएका उम्मेदवारमाथि दावी विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलि नै मनोनयन पत्रको जाँच र उजुरी परेमा त्यसउपर निर्णय गरिने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा लिन सकिने र नलिएको अवस्थामा अन्तिम नामावली प्रकाशन हुनेछ । असार १ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र २ गते मतदान हुने कार्यसूचि रहेको जनाइएको छ ।
मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरापलिका र ८ वटा गाउँपालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको संख्या हेर्दा कांग्रेसको ९, माओवादी केन्द्रको ७, नेकपा एमालेको ३ र एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुख र सात जना सदस्य रहने प्रावधान रहेको छ ।

बाइलाइन नेपाल











