हेटौंडामा मलाई पाखा लगाउँदा एमाले हार्योः हरिबहादुर महत
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर तथा एमालेका नेता हरिबहादुर महतले पार्टीले आफुलाई पाखा लगाउँदा एमाले हारेको आरोप लगाएका छन् । रुपचन्द्र विष्ट स्मारक समिति नेपालको हेटौंडामा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकमा आफ्नो भनाई राख्ने क्रममा उनले आफुलाई टिकट नदिएकै कारण हेटौंडा उपमहानगरपालिकामा एमालेले हार व्यर्होरेको बताएका हुन् ।
जनताको पक्षमा काम गरेपनि पार्टीको पक्षमा काम नगरेको भन्दै आफुलाई मेयरको टिकट नदिएको आरोप लगाउँदै उनले भने– ‘मलाई मेयर हुँदा पार्टीको लागि काम गरेन भनेर साथीहरुले केपी ओलीसम्म कुरा पुर्याए । जनताको पक्षमा काम गरेको पार्टीले देखेन् । मलाई पाखा लगाएर अर्को उम्मेदवार ल्याउँदा एमालेको अवस्था जनताले कस्तो बनाईंदिए सबैलाई थाहै छ ।’
उनले आफ्नो नाम मेयरमा एकल रुपमा सिफारिस हुने अवस्थामा जिल्लाका साथीहरुले अनेक बखेडा गरेर नदिएको आरोप पार्टीका नेताहरुलाई लगाए । उनले वर्षैसम्म कर्मचारीले सञ्चालन गरेको स्थानीय तहलाई पाँच वर्ष निष्पक्षसँग सञ्चालन गर्नु नै उपलब्धि भएको बताए ।
उनले भने–‘विकासको काम कति गरेको छु जनताले भन्लान् । तर वर्षैसम्म कर्मचारीको अधिनमा रहेको निकायमा पाँच वर्षसम्म आर्थिक लोभमा नपरी जनताको पक्षमा काम गरेर चोखो भएर बिदा हुनु नै ठूलो कुरा हो । मलाई कुनै लोभ लालचमा नपरी जनताको पक्षमा काम गर्ने प्ररेणा रुपचन्द्र विष्टसँगको सामिप्यताले नै दिएको हो ।’

बाइलाइन नेपाल











