आर्मी मकवानपुर गोल्डकपको फाइनलमा
क्यामरुनी क्लब एभेनिर एफसी डोउलालाई सडन डेथमा पराजित गर्दै साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको सडन डेथमा आर्मीले एभेनिरलाई ११–१० ले पराजित गर्दै फाइनलमा स्थानिय टोली विजय युथ क्लबसँगको भेट पक्का गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको हो । टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो ।
सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा एभेनिरको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता बन्दै फाइनलमा पुग्न सफल भयो ।
टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर र दिनेश हेन्जनले गोल गर्न सफल भए । कमल बहादुर थापाको प्रहार पोलमा लाग्दै बाहिरिदा सन्तोष केसीले गोल गर्न सकेनन् । सडन डेथमा युद्ध शाही, विकेश कुथु, सुरज बस्नेत, विमल पाण्डेय र भरत खवासले गोल गर्दा जितेन्द्र कार्कीले गोल गन सकेनन् । त्यसपछिको टाइब्रेकरमा दीपक गुरुङ, दिनेश हेन्जन र सिमन्त थापाले गोल गर्न सफल भए ।
त्यसअघि प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ४९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा गोल खान पुगेको थियो । जिकाले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै एभेनिरको सम्भावना जीवितै राखेका थिए ।
अब विजय युथ र आर्मीबीचको उपाधि भिडन्त सोमबार हुनेछ । विजय युथले शुक्रबार विभागीय नेपाल पुलिसलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार ट्रफी प्राप्त गर्नेछ ।

बाइलाइन नेपाल











