मेरी छोरीले सास फेर्न सक्ने देश

विशाल खड्का, वन तथा वातावरण मन्त्री, बागमती प्रदेश
२२ जेष्ठ २०७९, आईतवार २०:००

म मेरो कुराको सुरूआत बाबा–छोरीको संवादबाट गर्न चाहन्छु।

मेरी सात वर्षकी छोरी छिन्।

हिजो राति फोनमा कुरा गर्दा उनले भनिन्– बाबा तपाईं काठमाडौं कहिले आउनुहुन्छ?

मैले भनेँ– छोरी मलाई आउन अझै केही दिन लाग्छ। बरू तिमी नै हेटौंडा आऊ न।

उनले भनिन्– नाइँ, त्यहाँ धेरै गर्मी छ! म आउँदिनँ।

म मेरी छोरीलाई निकै माया गर्छु। तर मैले उसलाई जति नै माया गरे पनि र म स्वयं वातावरणमन्त्री भए पनि मेरी छोरी र ऊजस्तै अरूका छोराछोरीहरूका लागि यहाँ गर्मी नहुने वातावरण बनाउन सकिरहेको छुइनँ।

अब प्रश्न उठ्छ– के यो गर्मी प्राकृतिक रूपमा बढिरहेको हो? वा यसलाई बढाउनुमा मानिसको भूमिका छ?

भारतमा मूलतः मे र जुन महिनामा ‘लु’ चल्छ। तर यो वर्ष मार्चदेखि नै गर्मीले आफ्नो तान्डव देखाइरहेको छ।

सन् १९०१ देखि भारतमा मौसमको रेकर्ड राख्न थालिएदेखि हाल यो वर्षको मार्चसम्ममा सबैभन्दा धेरै गर्मी रेकर्ड गरिएको छ। यसले १२२ वर्षको गर्मीको पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्‍यो।

यसको अर्थ हो– मानिससहित हजारौं जीवजन्तु तथा बोटविरूवाहरूले आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्नु पर्नेछ। यति मात्र होइन गर्मी बढेसँगै कयौं तलाउहरूले, ग्लेसियरहरूले, समुद्र किनारमा रहेका मुलुकहरूले र त्यहाँ बसोबास गर्ने मानिसहरूले आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्नु पर्नेछ।

मेरी छोरीले महसुस गरेको गर्मीले विश्वका झन्डै एक तिहाई बालबालिका र पाका उमेरकाहरूलाई प्रभावित पारिरहेको छ। तर के हामीले यसबारे कहिल्यै गम्भीरतापूर्वक सोच्ने समय निकाल्यौं? यसबारे छलफल गर्न हामीसँग समय छ? के यसबारे नीति–नियम बनाउन हामीले गम्भीरतापूर्वक प्रयास गर्‍यौं?

मलाई लाग्दैन यसको सकारात्मक जवाफ आउँछ। तथापि एकैछिनलाई मानौं, हामी हरितन्नम मुलुकका वा अल्पविकसित मुलुकका शासक/प्रशासक, शिक्षक/बौद्धिक, अभियन्ता/जनता हौ। त के विकसित भनिएका मुलुकका शासक/प्रशासक, शिक्षक/बौद्धिकले यसबारे आवाज उठाए? जलवायु परिवर्तनबारे गम्भीर भएर केही कदम चाले, जसले पृथ्वीलाई अलिकति भए पनि चिसिन सहयोग गर्‍यो?

एक शब्दमा भन्ने हो भने उनीहरूले पाइला चालेजस्तो मात्रै गरे। वास्तवमा उनीहरूले जलवायु परिवर्तन अथवा वातावरणका क्षेत्रका कुनै पनि पाइला गम्भीरतापूर्वक अघि सारेका छैनन्। अझै एक कदम अघि बढेर भन्ने हो भने मेरी छोरीले महसुस गरेको गर्मीमा मेरो र मेरो देशको जति हिस्सा छ, त्योभन्दा कयौं गुणा बढी हिस्सा धनी र विकसित भनिएका मुलुकहरूको छ। (विश्वको सबभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकमा २९.९७ प्रतिशतले चीन पहिलोमा। १४.२० प्रतिशतले अमेरिका दोस्रोमा। ७.०९ प्रतिशतले भारत तेस्रोमा तथा रूस र जापान क्रमशः ४.६५ र ३.४७ प्रतिशतले चौथो र पाँचौंमा पर्छन्।)

स्थिति कतिसम्म डरलाग्दो छ भने तापक्रम वृद्धिले १० लाखभन्दा बढी विभिन्न प्रजाति लोप हुने दिन कुरिरहेका छन्। पृथ्वीको गर्मी १.५ डिग्री सेल्सियस मात्रै बढ्यो भने जमिनमा भएका १४ प्रतिशत वनस्पति र जीव लोप हुने निश्चित छ। अहिलेसम्म ४७ प्रतिशत प्रजाति लोप भई नै सके। समुद्री प्रजाति र जीवहरूमाथि जति ठूलो संकट अहिले देखा परेको छ, त्यो मानव इतिहासमा अहिलेसम्म कहिल्यै देखिएको थिएन।

तपाईंले आफ्नो मोबाइलको स्क्रिनमा समुद्र किनारमा ह्वेल मरिरहेको समाचार र भिडिओ पक्कै देखेको हुनुपर्छ। तर आज वातावरण दिवसका दिन म ढुक्क भएर के भन्न सक्छु भने त्यसले तपाईंलाई छुँदै छोएन। ह्वेलले मात्रै होइन, तपाईंलाई ग्लेसियर पग्लिएकोले पनि छोएन। तपाईंलाई गोहीहरूले अकालमा ज्यान गुमाउँदै गरेको दृश्यले पनि छोएन। तपाईंलाई बागमतीसहित आफ्नो नजिकका नदी–नालाहरू दिनप्रतिदिन विषाक्त हुँदै गएकोले पनि छोएन।

इतिहासमै मानव योभन्दा धेरै संवेदनाहीन भएको उदाहरण तपाईंले पाउन गाह्रो छ।

वातावरण दिवसको दिन पारेर म ती सबै संवेदना नभएकाहरूलाई वातावरण दिवसको शुभकामना दिन चाहन्छु। म ती सबै आमाबुबा, शासक–प्रशासक, पत्रकार–बुद्धिजिवी तथा आममानिसलाई वातावरण दिवसको शुभकामना दिन चाहन्छु, जसले पर्यावरणप्रति आफ्नो लेस मात्र पनि जिम्मेवारी पूरा गरेका छैनन्।

पर्यावरणप्रति तपाईंमा कुनै संवेदना र प्रेम नहुन सक्छ। तर तपाईंका आफ्ना सन्तानप्रति त संवेदना र प्रेम बाँकी छ होला नि? यदि आफ्ना सन्तानलाई तपाईं प्रेम गर्नुहुन्छ भने आजैका दिनदेखि पर्यावरणप्रति सचेत हुनुहोस्।

तपाईं गोही मरेकामा गोहीका आँसु नझार्नुहोस् तर मन–मनै चिन्तित अवश्य हुनुहोस्। तपाईं समुद्र फोहोर भयो भनेर धेरै चिन्ता नलिनुहोस्, मात्र आफ्नो फोहोर खोलामा नफाल्नुहोस्। किनभने समुद्र फोहोर हुनुमा नदीको ठूलो हात छ। नदी सफा भए समुद्रको झन्डै ७५ प्रतिशत समस्या हल हुन्छ।

यति भन्दै गर्दा तपाईंको मनमा– समुद्रसँग मेरो के सरोकार भनेर कुरा खेल्न सक्छ?

हामीलाई थाहा हुनुपर्छ– समुद्र हाम्रो अक्सिजनको स्रोत हो।

भनिरहनु पर्दैन, विश्वभर गर्मी बढाउनुमा, पर्यावरण विनाश गर्नुमा, हजारौं मेट्रिक टन फोहोर उत्सर्जन गर्नुमा, समुद्र दूषित गर्नुमा विश्वका सबभन्दा धनी मुलुक, धनी व्यक्तिहरूको जति ठूलो हात छ, त्यति ठूलो हात पर्यावरण विनाशमा हाम्रो कुनै कोणबाट पनि छैन। तर त्यसको मार कसले खेपिरहेको छ?

त्यसको मार बंगलादेशका जनताले खेप्नुपरेको छ। त्यसको मार नेपालको खुम्बू क्षेत्रका जनताले खेप्नुपरेको छ। त्यसको मार माडागास्कर र गिरीबाटी जस्ता मुलुकका जनताले खेप्नुपरेको छ। त्यसको मार भारत र पाकिस्तानका गरिबभन्दा गरिब जनताले खेप्नुपरेको छ।

उदाहरणका लागि अन्तरिक्षमा कसको वर्चश्व कायम गर्ने भन्ने होडमा लागेका २४३ बिलियन डलर मूल्य भएको टेस्लाका सिइओ एलन मस्क र १६८ बिलियन डलर मूल्य भएको अमेजनका संस्थापक जेफ बेजोसबीचको भिडन्त हेरौं। उनीहरूको भिडन्तमा विश्व जसरी अल्झिएको छ, त्यसले हाम्रो पर्यावरणलाई त्यति नै संकटोन्मुख दिशामा घचेट्दै छ।

अन्तरिक्षको प्रतिस्पर्धामा एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजनमध्ये कसले अमेरिकी सरकार तथा नासाको आर्थिक सहयोग पाउने भन्ने होडबीच हाम्रो साझा पृथ्वी, पर्यावरण, स्वच्छ हावा र सूर्यको किरण पाउनुपर्ने अधिकारको स्वर पानीमा चिनी बिलीन भए जसरी बिलीन हुन पुगेको छ।

कोरोनाको विश्वव्यापी मारमा ‘धन्न बाँच्न सफल भयौं’ भनेर खुसी मनाइरहँदा हामीले रोचक मानेर पढेको समाचार के हो भने– ‘बेजोसलाई पछार्दै मस्क बने विश्वकै धनी।’

उनीहरूको सम्पत्ति कमाउने होड र प्रतिस्पर्धालाई यसरी प्रस्तुत गरियो, मानौं यो संसारको सबभन्दा महत्वपूर्ण र नपढी नहुने मुद्दा हो। तर विश्वभरका कुनै पनि पत्रिकाले आममानिसको खल्ती सुक्दै गर्दा उनीहरूको खल्तीमा कसरी पैसा थुप्रिँदै छ भनेर प्रश्न गरेनन्। जबकि उनीहरूले मानव सभ्यता जोगाउन, विश्वभरका जनताले सामना गरिरहेको खानेपानीको संकट निवारण गर्न, जनतासम्म कोभिडको भ्याक्सिन कसले छिटो पुर्‍याउने भनेर प्रतिस्पर्धा गरेका थिएनन्। उनीहरूले कुनै बाघ संरक्षण वा ह्वेलको जीवन जोगाउन पनि प्रतिस्पर्धा गरेका थिएनन्।

उनीहरूको प्रतिस्पर्धा थियो– विश्वभर जासूसी गर्ने धेरैभन्दा धेरै स्याटेलाइट अन्तरिक्षमा कसले छिटो पुर्‍याउने र अन्तरिक्षमा मानिसलाई पहिले कसले लैजाने।

यसको एक मात्र उद्देश्य पैसा कमाउनेबाहेक केही थिएन। तर हामी हरितन्नम मुलुकमा बसेर उनीहरूले धन कमाएको समाचार पढेर खुसी भइरह्यौं। बाँच्न सफल भएकामा खुसी भइरह्यौं।

विश्वभर कसले कति रकम कुम्ल्याएर धनी भए भन्ने समाचारका बीच हामीले बेहोरेको अर्को सबभन्दा ठूलो संकट हो– महँगी।

यो संकटले जर्मनीको फ्रेन्कफर्टदेखि सेनेगलको डकारसम्मका र नेपालको काठमाडौंदेखि चिलीको सान्टियागोसम्मका मानिसलाई आफ्नो बाहुपासमा दपेटेको छ। जर्मनीमा चार दशकसम्म कायम हुन नसकेको मुद्रास्फिति दर यस वर्ष रेकर्ड स्तरमा कायम छ।

सन् १९८२ पछि पहिलो पटक ब्रिटेनमा ९ प्रतिशतले मूल्यवृद्धि भएको छ भने क्यानाडाको हाल पनि योभन्दा भिन्न छैन। सेनेगलका अधिकांश मानिसले आफ्नो सबभन्दा ठूलो चाड रमजानका अवसरमा पकाइने परम्परागत खानकी महँगीका कारण पकाएनन्।

नेपालको सन्दर्भमा भन्ने हो भने बितेको एक दशकमा ७ प्रतिशतका दरले मूल्यवृद्धि भयो। अहिलेको मूल्यवृद्धिले नेपालीको ढाड मात्रै सेकेको छैन, यसले आममानिसको घाँटीमा महँगीको फन्दा नै लगाइदिएको छ। दस वर्षमा ७ प्रतिशतले मूल्यवृद्धि हुनुको अर्थ हो– कुनै पनि सामानको मूल्य दोब्बर हुनु।

यो महँगी स्वाभाविक हो भन्ने ठान्छौं भने हामी मूर्ख सिवाय केही होइनौं। विश्वका सीमित खर्बपतिसँग जति धेरै सम्पत्ति थुप्रिँदै जान्छ, हामी त्यति गरिब हुँदै जान्छौं। त्यसैले आजैदेखि तपाईं विश्वको सबभन्दा धनि को भयो भनेर हेर्न छाडी दिनुहोस्। उनीहरूले हाम्रो पर्यावरणमा आजका दिन कति नोक्सान पुर्‍याए भनेर हेर्न थाल्नुहोस्। महँगी र पर्यावरणका बीचको सम्बन्ध, युद्ध र पर्यावरणबीचको सम्बन्ध के हो बुझ्ने प्रयत्न गर्नुहोस्। पर्यावरणको विनाशको अर्थ के हो भन्ने बुझ्नुहोस्।

पर्यावरणप्रति हामी कतिसम्म उदासीन छौं भन्ने म यहाँ चर्चा गर्न चाहन्छु।

म र मेरो मन्त्रालय अहिले बजेट निर्माणको प्रक्रियामा छ। ‘बिरालो बाँध्ने’ परम्परालाई अलिकति मात्र पन्छ्याएर केही काम गरौं न त भन्दा मैले सबैलाई रिझाउन सक्ने परिवेश छैन। राजनीतिक नेतृत्व यो विषयप्रति यति धेरै उदासीन छ, मानौं उसको पर्यावरणसँग कुनै साइनो नै छैन।

पर्यावरणका विषयमा हुने कुनै पनि छलफल सबै राजनीतिक दलहरूका नेताहरूका लागि भैंसीले पाउँर काडेको भन्दा धेरै केही होइन। उनीहरू दाउपेचलाई असली राजनीति ठान्छन् र पर्यावरणको जटिल राजनीतिक मुद्दाबाट बिमुख हुन पुग्छन्। म फेरि पनि के जोड दिएर भन्न चाहन्छु– हामी बाँच्दासम्मको एक महत्वपूर्ण राजनीतिक मुद्दा पर्यावरण हो।

हाम्रा साना–साना नानीबाबुहरूको भविष्यका लागि आज गम्भीर छैनौं भने हामी राजनीति गर्दै छैनौं। भावी पुस्तालाई कस्तो पर्यावरण, कति स्रोतसाधन, कुन व्यवस्था हस्तान्तरण गर्छौं भन्नेले नै हाम्रो वास्तविक राजनीतिको निर्धारण गर्छ। नभए अहिलेसम्म खेलाची त सबैले गरेकै त छन्।

मेरी र अरू सबैका छोराछोरीहरू शितल वातावरणमा हुर्किऊन्, पढून् र यो देशका लागि केही गरून् भन्ने म चाहन्छु। तर के उनीहरूलाई त्यस्तो पर्यावरण हस्तान्तरण गर्नेबारे हामी गम्भीर छौं ?  यो प्रश्नसँगै सबैलाई वातावरण दिवसको शुभकामना!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*