बजेटपछि वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र आउट–ईन्द्र इन

बाइलाइन नेपाल
१४ जेष्ठ २०७९, शनिबार १२:३६

हेटौंडा । भागबण्डाको सहमति अनुसार वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन हुने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनमा बनेको सरकारको मुख्यमन्त्रीमा अहिलेका एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे आउट र नेपाली काँग्रेसका ईन्द्र बानियाँ इन हुने भएका छन् ।

गठबन्धनमार्फत राजेन्द्रलाई मुख्यमन्त्री बनाउँदा समाजवादी र काँग्रेसले आधाआधा कार्यकाल मुख्यमन्त्री सञ्चालन गर्ने सहमति भए अनुरुप आगामी आवको बजेट प्रस्तुत गरेपछि बानियाँ मुख्यमन्त्री बन्ने जनाइएको छ ।

वाग्मती प्रदेश सरकारले २०७९ असार १ गते बजेट भाषण प्रस्तुत गर्दैछ । बजेट भाषणपछि कांग्रेस वाग्मती प्रदेशका संसदीय दलका नेता बानियाँले गर्ने भएका हुन् । संभवतः उनी असार १७ भित्र मुख्यमन्त्री बनिसक्ने कांग्रेस निकट स्रोतले जनाएको छ ।

गत कार्तिक ११ गते एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा एमालेको वाग्मती प्रदेश सरकारलाई विस्तापित गर्दै कांग्रेस–माओवादी केन्द्रको सहयोगमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए ।

कांग्रेस वाग्मती प्रदेशका संसदीय दलका नेता बानियाँले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने बेला भएकाले जिम्मेवारीको बाँडफाँड पनि यसै अनुरूप गरिएको बताए।उनले भने ‘हामीले बजेट एकजनाले ल्याउने र निर्वाचनको लागि अर्कोको नेतृत्वमा सरकार निर्माण गर्ने सहमति भएको थियो, सोहि अनुसार हुनेछ ।’

नेपाली कांग्रेसका वागमती प्रदेश समति प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आधा कार्यकाल नेकपा ९एकीकृत समाजवादी०ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सोहि अनुसारको निर्णय कार्यन्वयन हुने दाबी गरे ।

नेकपा एमालेको एकल बहुमत रहेको वागमती प्रदेशसभाको अंकगणितमा नेकपा एकिकृत समाजवादीको विभाजनपछि फेरबदल भएको थियो । ११० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा हाल १०९ जना प्रदेशसभा सदस्यहरु छन् ।

जसमध्ये सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।

विपक्षमा रहेको नेकपा एमालेको ४३ जना सदस्यहरु छन् भने विवेकशील साझाका तीन, नेपाल किसान मजदूर पार्टी र राप्रपाका एक(एक सांसद छन् । वागमती प्रदेश सरकारको लागि सरकार गठन गर्न ५५ सांसदको समर्थन चाहिन्छ । जसअनुसार नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र तथा एकिकृत समाजवादीको मात्र सहमति भएपनि संख्या पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*