मकवानपुरमा गठबन्धनलाई सफलता,एमालेलाई धक्का

बाइलाइन नेपाल
७ जेष्ठ २०७९, शनिबार १३:५४

हेटौंडा । मकवानपुरमा स्थानीय तह निर्वाचन–२०७९ को अन्तिम नतिजा आइसकेको छ । सत्ता गठबन्धन र विपक्षी गठबन्धन बीच भएको निर्वाचनले मकवानपुरको राजनीतिक शक्ति र परिदृश्यलाई नै उथलपुथल पारिदिएको छ ।

सत्ता रहेका दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई मकवानपुरमा सफलता मिलेको छ । नेकपा एमाले, राप्रपा नेपाललगायतका दलको गठबन्धलाई भने धक्का पुगेको छ ।

मकवानपुरमा विशेषत नेपाली काँग्रेसलाई ठूलो सफलता र नेकपा एमालेलाई ठूलो धक्का पुगेको छ । माओवादी केन्द्रमा सामान्य सुधार देखिन्छ भने एकीकृत समाजवादी एउटा शक्तिको रुपमा उदाउने जमिन खडा गर्न सफल भएको छ ।

अघिल्लो निर्वाचनमा राक्सिराङ र बकैया गाउँपालिकाको अध्यक्ष जितेको काँग्रेस यसपटक वकैया, मकवानपुरगढी, कैलाश, राक्सिराङ, मनहरीको अध्यक्ष जित्न सफल भएको छ । साथै हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी, बागमती गाउँपालिकाको उपाध्यक्ष पनि हात पारेको छ ।

यस्तै माओवादी केन्द्रले थाहा नगरको मेयर, बागमती गाउँपालिकाको अध्यक्षमा जित हात पारेको छ । अघिल्लो निर्वाचनमा पनि मकवानपुरमा माओवादीले यि दुई स्थानमा मात्र जितेको थियो । गठबन्धन अन्र्तगत भागबण्डामा परेको भीमफेदी गाउँपाकिलामा भने माओवादी असफल भएको छ ।

तर माओवादीले गतनिर्वाचन भन्दा उपाध्यक्षमा भने केही सुधार गरेको छ । माओवादीले बकैया, मकवानपुरगढी, कैलाश, मनहरी र राक्सिराङमा उपाध्यक्ष पद जितेको छ । हेटौंडा उपमहानगरपालिकामा माओवादी दयनिय अवस्थामा पुगेको छ । हेटौंडाको १२ नम्बर वडा अध्यक्ष मात्र माओवादीले जितेको छ ।

यस्तै पहिलोपटक निर्वाचनमा होमिएको एकीकृत समाजवादी (एस) ले गठबन्धनको आडमा आफुलाई सफल बनाएको छ । एसले बागमती प्रदेशकै एकमात्र उपमहानगरपाकिका हेटौंडाको मेयर पद जितेको छ । यतिमात्र होइन् पहिलो महिला मेयर बन्दै इतिहास समेत कायम गर्न सफल भएको छ । यस्तै एसले हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडाको अध्यक्ष पनि जितेर मकवानपुरमा आफुलाई एउटा शक्तिको रुपमा उभ्याउन सफल भएको छ ।

निर्वाचनबाट एमालेलाई भने धक्का लागेको छ । नेकपा एमालेले मकवानपुरमा दुई वटामात्र पालिकामा जित हात पारेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६ वटा पालिका जितेको एमाले अहिले दुई वटामा खुम्चिन पुगेको हो ।

अघिल्लो निर्वाचनमा जितेका पालिकामा एमालेले यसपालि पराजय व्यहोरेको छ। एमालेले ३० वर्षदेखि एकछत्र राज गर्दै आएको हेटौंडा उपमहानगरपालिकासहित ४ पालिका गुमाएको हो ।

पाँच वर्षअघि एमालेले १० पालिका रहेको मकवानपुरका हेटौडा उपमहानगरपालिकासहित, ईन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकामा विजय हासिल गरेको थियो।

यसपटक एमालेले भीमफेदी र ईन्द्रसरोवर गाँउपालिकामा मात्रै जितेको छ। अघिल्लो निर्वाचनमा एमालेले जितेको पालिकामा अध्यक्षमात्र होइन उपाध्यक्ष पनि जितेको थियो । यस वर्ष जितेको ईन्द्रसरोवरमा अध्यक्ष उपाध्यक्ष जितेपनि भीमफेदीमा अध्यक्ष मात्रै जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*