हेटौंडामा मतगणना बाँकी हुँदै एमाले उम्मेदवार पौडेलले दिए गठबन्धनकी लामालाई बधाई

बाइलाइन नेपाल
६ जेष्ठ २०७९, शुक्रबार १८:१५

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मतगणना बाँकी हुँदै नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवार बनेकाअ अन्नतप्रसाद पौडेलले गठबन्धनकी उम्मेदवार मीना लामालाई जितको शुभकामना दिएका छन् ।

मतगणनाको अन्तिम चरणमा पनि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार लामाले अग्रता कायम गरेपछि एमालेका उम्मेदवार पौडेलले हार स्वीकार गर्दै मतगणना स्थलमा पुगेर बधाई दिएका हुन् । पौडेलले गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उपमेयरका उम्मेदवार राजेश बानियाँलाई पनि शुभकामना दिएका छन् । बानियाँको पनि जित सुनिश्चित भइसकेको छ ।

यस्तै एमालेबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले पनि मेयरको उम्मेदवार लामा र आफ्नै प्रतिष्प्रर्धी बानियाँलाई जितको शुभकामना दिएकी छिन् ।
यसअघि हेटौंडा–५ बाट विजयी वडा अध्यक्ष सुशिल घिमिरेले आफ्ना प्रतिद्वन्द्वी ह्यग्रिव आचार्यलाई काँधमा बोकेर सम्मान व्यक्त गरेका थिए ।

यो घटनाले मकवानपुरमा राजनीतिक संस्कार कस्तो छ भन्ने सन्देश दिएको छ । २०७४ सालको भएको स्थानीय तहको निर्वाचनमा पनि मेयरमा हरिबहादुर महत बिजयी भएपछि प्रतिष्प्रर्धी आन्नदराम पराजुलीले मतगणना स्थलमै पुगेर शुभकामना दिएका थिए ।

करिब चार हजार मत गन्न बाँकी रहेको अवस्थामा उम्मेदवार पौडेलले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार लामा र बानियाँलाई विजयको शुभकामना दिएका छन् । पौडेलले लामालाई जनताको मतको कदर गर्दै काम गर्न सुझाव समेत दिएका छन् ।

उपमहानगरपालिकाको मतगणना भइरहेको स्थान सिद्धार्थ माविमा पुगेर एमालेका मेयर उम्मेदवार पौडेल र उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले लामालाई खादा लगाइदिँदै शुभकामना दिए ।

७३ हजार ४१४ मत खसेकामा ६९ हजार ६९६ मत गणना हुँदैमा एमाले उम्मेदवारले लामालाई बधाई दिएका हुन् ।  अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्वर वडाको मतगणना जारी छ ।

लामाले एमाले उम्मेदवार पौडेलसँगको मतान्तर दुई हजार ७७ पुर्‍याएकी छन् । तीन हजार ७ सय १८ मत गणना हुने क्रममा रहको छ । लामालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पनि समर्थन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*