हेटौंडाको पहिलो महिला मेयर बनेर इतिहास रच्ने दौडको नजिकै मिना लामा

बाइलाइन नेपाल
६ जेष्ठ २०७९, शुक्रबार ०९:२६

हेटौंडा । वाग्मती प्रदेशको राजधानी समेत रहेको प्रदेशकै एकमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ । विभिन्न अड्कलबाजी र मतमतान्तरका बीच भइरहेको मतगणनाको अन्तिम अवस्थामा झनै चासो बढ्दै गएको छ ।

हेटौंडाको मेयरमा मतदाताले कसलाई रोजेका छन् ? अब केही समयमा सार्वजनिक हुँदैछ । अहिलेसम्मको मत परिणाम र अग्रतालाई हेर्दा गठवन्धनबाट मेयरमा उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मिना लामा हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयर बनेर इतिहास रच्ने दौडमा करिब नजिक पुगेकी छिन् ।

मेयरमा अहिलेसम्म महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् । अघिल्लो कार्यकालमा उपमेयर भएर काम गरेकी लामालाई नै मेयर भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने जनमत प्राप्त हुने आँकलन सबैले गर्न थालेका छन् ।

हेटौंडाको मेयर बन्ने दौडमा लामासँगै एमालेका अन्नतप्रसाद पौडेल र राप्रपाका दीपकबहादुर सिंह रहेका छन् । अनेपेक्षित रुपमा लामा र पौडेललाई टक्कर दिएर चुनावी माहौललाई रोचक र चर्चित बनाएका सिंह अहिले दौडको तेस्रो स्थानमा पुगेका छन् ।

अघिल्लो कार्यकाल एमालेबाट निर्वाचित लामा पार्टी फुटेसँगै एकीकृत समाजवादी रोजेकी हुन् । एमालेबाट उपमेयर निर्वाचित भएकी लामा अहिले एमालेलाई नै हराउँदै मेयरको पद नजिक पुगेकी छिन् । गठबन्धनका दलहरुले लामालाई इमान्दारिताका साथ मत नदिएको मतगणानाका क्रममा देखिएपनि उनको यात्रा अब रोकिने देखिदैन् ।

१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा १,२,३,४,५,६,७,१३,१४,१५,१६,१७,१८ र १९ नम्बर वडाको मतगणाना भइसकेको छ । अहिले ८, ९, १०, ११, १२ नम्बर वडाको मतगणाना भइरहेको छ । आजै यि वडाको मतगणाना सकिने जनाइएको छ ।

यो समाचार तयार पार्दासम्म हेटौंडा उपमहानगरपालिकाको ६३, ८५५ मतगणना भएको छ । मतगणनामा १ हजार ६ सय ८४ मतले गठबन्धनका तर्फबाट नेकपा एसका मेयर पदका उम्मेदवार मिनाकुमारी लामा अगाडि छिन् । उनले २० हजार १७ मत प्राप्त गरेकी छिन् ।

यसैगरी नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले १८ हजार ३ सय ३३ र राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार दीपक बहादुर सिंहले १७ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकामामा ७४ हजार १ सय ८५ मत खसेको थियो । हालसम्म ६३ हजार ८ सय ५५ मत गणना भइसकेको र अब १० हजार ३ सय ३० मत गर्न बाँकी छ ।  मत गणनाकाक्रममा लामालाई आएको मतको अवस्थालाई र उनको अग्रतालाई हेर्दा जित निश्चित रहेको जनाइन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*