गठबन्धनबाट हेटौंडाको मेयरमा लामा र उपमेयरमा बानियाँद्वारा उम्मेदवारी दर्ता

हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीनाकुमारी लामा र उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ दलबीचको सहमतिमा नेकपा एकीकृत समाजवादीबाट लामा मेयर पदमा उम्मेदवार र नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बनेका हुन् । यसअघि लामा हेटौंडाको उपमेयर र बानियाँ हेटौंडा–५ को वडा अध्यक्ष थिए ।
लामाले अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट निर्वाचनमा जित हासिल गरेर उपमेयर भएपनि पार्टी विभाजनपछि एकिकृत समाजवादीमा लागेकी थिइन् । गठवन्धनले हेटौंडा एकिकृत समाजवादीलाई दिने सहमति गरेपछि पार्टीले उनलाई मेयरको उम्मेदवार बनाएको हो ।
बाजागाजा र झाँकीसहित गठबन्धनका नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका थिए ।