देशभर गर्मी बढ्यो,तराईमा लु चल्न सक्ने

बाइलाइन नेपाल
५ चैत्र २०७८, शनिबार ०७:५७

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको तापक्रम पनि निरन्तर उकालो लागिरहेको हो । यस वर्ष काठमाडौंमा हिउँदपछिको सबैभन्दा बढी तापक्रम शुक्रबार ३१.३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि १ चैतमा ३१.१ डिग्री मापन भएको थियो।

गत वर्ष २१ मार्चको काठमाडौंको अधिकतम तापक्रम २८.७ डिग्री सेल्सियस थियो, जुन उक्त महिनाको सबैभन्दा बढी तापक्रम थियो।

मौसमविद् इन्दिरा कँडेलका अनुसार पूर्वी नेपालमा तापक्रम झन् बढिरहेको छ । मार्चदेखि नै अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी रहेको उनले बताइन्। मनसुनी प्रणाली नहुँदा आकाश खुला हुन्छ तथा गर्मीयाममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सीधा भएकाले घाम तातो हुने र तापक्रम बढ्ने उनले बताइन्।

शुक्रबार सबैभन्दा बढी तापक्रम धरानमा ३७.२ डिग्री र जनकपुरमा ३७ डिग्री मापन भएको छ । जनकपुरमा बिहीबार ३५ डिग्री मात्र थियो । शुक्रबार भैरहवामा ३६.८, सिमरामा ३६.५, विराटनगरमा ३६.२, धनगढीमा ३५.२ र नेपालगन्जमा ३४.६ डिग्री मापन भएको छ । बिहीबार भैरहवामा ३३.९, सिमरामा ३४.८, विराटनगरमा ३५.५, धनगढीमा ३३.२ र नेपालगन्जमा ३३.३ डिग्री मापन भएको थियो । तर, भैरहवामा तापक्रम एक दिनमै २.९ डिग्रीले बढेको छ । अन्य क्षेत्रमा पनि तापक्रम वृद्धि भएको महाशाखाले तथ्याङ्कले देखाएको छ ।

तराई मात्र होइन, पहाडी क्षेत्रमा पनि तापक्रम बढेको छ । शुक्रबार दिपायलको अधिकतम तापक्रम ३४.२ पुगेको छ । त्यस्तै, वीरेन्द्रनगरमा ३२.६, घोराहीमा ३२.८, ओखलढुंगामा २८.४ र जुम्लामा २७ डिग्री मापन भएको छ ।

हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् लु चल्न सक्ने चेतावनी दिएको छ। भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् कँडेललाई जानकारी दिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*