कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो, चौथो खोप आवश्यक

एजेन्सी
१ चैत्र २०७८, मंगलवार ०७:४८

मार्केट वाच । युरोपका थुप्रै मुलुकमा ‘डेल्टाक्रोन’ नामक कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । यो डेल्टा र ओमिक्रोन भेरियन्टको सम्मिश्रणबाट बनेको हो । तर, अहिले नै यो अत्यन्तै तीव्र गतिमा सर्ने वा अन्यभन्दा घातक छ कि छैन भन्ने स्थिती नभएको बताइएको छ ।

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले सानो संख्यामा डेल्टाक्रोन फ्रान्स, नेडरल्यान्डस् र डेनमार्कमा भेटिएको पुष्टि गरेको छ ।

कोभिड–१९ विरुद्धको फाइजर खोप निर्माण कम्पनीका अध्यक्ष अल्वर्ट बोर्लाले पूर्ण रुपमा खोप लिइसकेकाहरुले सन् २०२२ को उत्तरार्धमा चौथो खोप लिनुपर्ने बताएका छन् । उनले आगामी केही वर्षसम्म पनि कोभिड–१९ समाप्त नहुने बताएका छन् ।

“मानिसहरुले भाइरससँगै बाँच्न सिक्दैछन् । अब चौथो डोज अर्थात दोस्रो बुस्टरको आवश्यकता छ । तेस्रो डोजबाट मानिसले पाइरहेको प्रतिरक्षा वास्तवमा अस्पतालमा भर्ना हुनु नपर्ने र बिरामी नमर्ने सवालमा राम्रो देखिएको छ । यो बुस्टर संक्रमणविरुद्ध त्यति धेरै राम्रो नहुनुका साथै यसको प्रभाब धेरै दिर्घकालीन पनि छैन,” उनले सीबीएस न्युजको ‘फेस दि नेसन’ नामक कार्यक्रममा प्रस्तोता मार्गरेट ब्रेन्ननसँग भनेका छन्, “मलाई आशा छ, कोभिड बुस्टर फ्लुको खोप जस्तै एक वर्षिय होस् । फाइजरले अझै बढी प्रतिरक्षा प्रदान गर्ने खालको खोप बनाउने प्रयास गरिरहेको छ ।”

फाइजरले अहिले ओमिक्रोनलगायत सबै प्रकारका भेरियन्टबाट बचाउने खोप बनाउन खोजिरहेको छ । तर, यसको उद्देश्य भने त्यस्तो खोपले मानिसलाई कम्तिमा एक वर्षसम्म रक्षा गरोस् भन्ने हो ।

बोर्लाले यदि त्यस्तै खोप बनाउन सकिएको खण्डमा मानिसले साँच्चै पहिले जस्तै जीवन यापन गर्नसक्ने आशा व्यक्त गरेका छन् । उनले आगामी अप्रिलमा पाँच वर्ष मुनिका बालबालिकाका लागि विकास गरिँदै गरेको खोपको परीक्षणको तथ्यांक प्राप्त हुने आशा राखेका छन् । यदि परिणाम सफल रहेको खण्डमा सो उमेर समूहका लागि मेमा पहिलो खोप निस्कनेछ ।

अमेरिकामा अहिले कोभिड संक्रमण घट्दै गइरहेको छ । न्युयोर्क टाइम्सका अनुसार औसतमा दैनिक संक्रमितको संख्या ३४ हजार २३२ मा सिमित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*