काँग्रेस मकवानपुरको सभापतिमा त्रिपक्षिय भिड्न्त, ईन्द्र बानियाँको यस्तो छ प्लान
हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको सभापतिसहितका पदहरुमा त्रिपक्षिय भिड्न्त हुने भएको छ । आजसम्म काँग्रेस मकवानपुरको सभापतिका लागि ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् । तीन जनाले सभातिमा उम्मेदवारी घोषणा गरेसँगै चुनाव रोचक मोडमा पुगेको छ ।
काँग्रेस सभापतिमा नेता आन्नदराम पराजुली र जयराम लामिछानेले शुक्रबार उम्मेदवारी घोषणा गरेका थिए भने बुद्ध लामाले आज उम्मेदवारी घोषणा गरेका थिए ।
यसअघि सभापतिमा बलिया देखिएका पराजुलीलाई लामिछाने र लामा मैदानमा उत्रिएपछि समस्या पर्दै गएको छ । तीन जना उम्मेदवार भएसँगै पहिलो चरणमा कसैको पनि बहुमत नआउने आँकलन काँग्रेसीहरुको छ ।
सभापतिमा पराजुलीले उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा काँग्रेसका दामोदर खनाल, सुशान्त श्रेष्ठ, यतिराज सापकोटा, विश्वलाल लामा, राजवीर मोक्तान, प्रकाश बर्तौला, भूमिनन्द गौतमलगायतको मञ्चमा उपस्थिति रहेको थियो । उनले अझै पनि कार्यसमितिमा अन्य पदमा उठ्ने उम्मेदवारको घोषणा गरेका छैनन् ।
यस्तै सभापतिमा लामिछानले उम्मेदवारी घोषणा गर्दा मञ्चमा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमन न्यौपाने, माइकल रामचन्द्र अर्याल, नेतृ उमा दाहाललगायत नेताको उपस्थिति रहेको थियो ।
लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले उम्मेदवारी दिने भएका छन् । लामिछाने समुहले जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकीलगायत उम्मेदवार बनाउने तय गरेको छ ।
यसैगरी सभापतिमा लामाले उम्मेदवारी घोषणा गर्दा मञ्चमा कार्यवाहक सभापति विष्णु लामिछाने, सभापतिका अर्का आकांक्षी प्रभातकुमार दाहाल, लोक मुक्तान, प्रकाश बर्तौला, दिलबहादुर भोम्जन, रन्जन कालाखेती, गोपिलाल विश्वकर्मा, प्रदिप कोइराला, सन्जीव श्रेष्ठ, राजेन्द्र घिसिङ, राजविर मोक्तानलगायत नेताहरुको उपस्थिति रहेको थियो । तर उनले पनि अन्य पदमा उम्मेदवार कोको हुन भन्ने सार्वजनिक गरेनन् ।
यस्तो छ ईन्द्र बानियाँको प्लान
उम्मेदवारी घोषणा सभामा पराजुलीले आफुलाई कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थन रहेको दावी गरे । तर उमेदवारी घोषणा कार्यक्रममा उपाध्याय र बानियाँ सहभागि भएका थिएनन् । अहिलेसम्म बनियाँले कुनै पनि प्यानललाई साथ दिएको सार्वजनिक भएको छैन् ।
तर काँग्रेस मकवानपुरका एक नेताका अनुसार नेता बानियाँले पराजुलीललाई रोक्नका लागि लामालाई सभापतिको उम्मेदवार बनाएको बताए । बानियाँ निकट जिल्लाका नेताहरुको बाक्लो उपस्थिति लामाको उम्मेदवारी घोषणा कार्यक्रममा देखिएकाले पनि यसको पुष्टि गरेको छ । उनका अनुसार सहमति भए बानियाँले हालका कार्यवाहक सभापति लामिछानेलाई नै सभापति बनाउन चाहेका छन् ।
नेता बानियाँ जसरी पनि जिल्लामा आफ्नो इच्छा अनुसार चल्लने सभापतिको खोजीमा छन् । पराजुलीलाई सभापतिमा ल्याउदा त्यो सम्भावना नदेखेको र भोली जिल्लामा आफ्नो पकड् गुम्ने राम्ररी बुझेका बानियाँले पराजुलीलाई जसरी पनि रोक्न चाहेका छन् । अहिले पराजुलीलाई हेटौंडा उपमहानरपालिकाको मेयर बन्न र सभापति उम्मेदवारी नदिन बानियाँ पक्षले प्रयास गरिरहेको छ । तर सभापति र मेयर दुवै आफै हुनुपर्ने पराजुलीको अडान पछि बानियाँ भड्किएको जनाइएको छ ।
बानियाँले लामालाई सभापतिमा उठाएर पराजुलीलाई बहुमत ल्याउनबाट रोक्ने र पुनः मतदान गराउने योजनामा छन् । त्यो योजना सफल भएमा अर्का सभापतिका उम्मेदवार लामिछानेलाई पनि लामालाई नै समर्थन गर्न लगाउने योजना रहेको स्रोतले जनाएको छ । त्यो सम्भव नभए पराजुली भन्दा लामिछानेलाई नै स्विकार गरेर जाने अर्को रोडम्याप पनि तयार रहेको छ । उनले आफु निकटसँगको छलफलमा अन्तमा लामालाई जिताउन नसक्ने अवस्था आएमा आन्नदराम भन्दा जयराम नै ठिक भएको बताएका छन् ।
तर काँग्रेसका अर्का नेताका अनुसार तीन जना उम्मेदवार हुने बित्तिकै पराजुलीले जित्ने दाबी गरे । लामिछाने र लामाले पराजुलीको मतमा खसै असर नपर्ने भएकाले तीन जना हुँदा पराजुलीलाई झन सहज भएको बताए । नयाँ नेतृत्व चयनका लागि १५ गते उम्मेदवारी दर्ता र १६ गते मतदान कार्यक्रम रहेको छ ।

बाइलाइन नेपाल











