फिलिपिन्सलाई १३६ रनले हराउँदै नेपाल सेमिफाइनल नजिक

बाइलाइन नेपाल
७ फाल्गुन २०७८, शनिबार १५:०२

फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो ।दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।

कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । फिलिपिन्सका ड्यानिएल स्मिथले २० र जोर्डन एलेग्राले २७ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । उनको यो टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक हो ।  त्यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*