फूटबलका पूर्वकप्तान हरि खड्का दोषी ठहर, यस्तो छ सजाय
नेपाली राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान हरि खड्कालाई विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार मुद्दामा कसूरदार ठहर भएका खड्कालाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
विशेष अदालतका सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासबाट फैसला गरिएको योगीले बताए । भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार उनलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
पूर्व फूटबल खेलाडी हरि खड्काले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको कसूर ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ १२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बढुवा हुनका लागि खड्काले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारले अभियोग लगाएको थियो । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा छानबिन शुरू भएपछि २ वर्षअघि प्रहरी सहायक निरीक्षक पदबाट राजीनामा दिएका थिए ।
खड्काले भारतको उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद्बाट जारी भएको भन्दै प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

बाइलाइन नेपाल











