बालाजुमा दुर्घटना गराएर भागेका बस चालकले गरे आत्मसमर्पण

बाइलाइन नेपाल
६ फाल्गुन २०७८, शुक्रबार १२:४५

काठमाडौंको बालाजुमा बसको ठक्करबाट बिहिबार विहान दुईजना पैदल यात्रुको मृत्यु भयो । प्रत्यक्षदर्शीले भने–‘मिनिबसले किचेर भाग्यो ।’ मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं–१६ जागृति टोल बस्ने करिब ५० दुर्गामाया थापा मगर छन् । प्रहरीले सिसिटिभी फुटेज हेरेर अनुसन्धान अघि बढाउँदै थियो ।

काठमाडौंमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । गाडी चालक टुप्लुक्क जिल्ला प्रहरी कार्यालय धादिङको गेटमा पुगे । उनी थिए धादिङको सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलिया । जिल्ला प्रहरी कार्यालय धादिङको गेटमा गएर उनले सेन्ट्रिलाई भने–‘मलाई प्रहरीले खोजेको सुनेँ, त्यसैले आएँ ।’

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीकाअनुसार उनी गएराति ९ बजे प्रहरी कार्यालयमा पुगेका हुन् । डिएसपी भण्डारी भन्छन्– ‘त्यसपछि महानगरीय प्रहरी वृत बालाजुसँग समन्वय गरेर हामीले गाडीसहित उनलाई काठमाडौं पठाएका छौं ।’

बिहीबार बिहान करिब ५ बजेर ५५ मिनेटमा थपलियाले हाँकेको बागमती प्रदेश–०१–००५ ख ९३१४ नम्बरको बसले दुईजनालाई किचेको थियो । दुर्घटनापछि गाडी फरार भएको हुनाले अनुसन्धान अधिकृतहरूले कुन रुटको कस्तो गाडीले दुर्घटना गराएको भनेर पनि पत्ता लगाउन सकेका थिएनन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतकाअनुसार दुर्घटना भएको ठाउँ गंगाहल नजिक सिसिटिभी पनि थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*