यूएईले नेपाललाई दियो १९३ रनको लक्ष्य
चार देशीय शृङ्खालाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) ले नेपालसामु १ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनायो ।
यूएईका लागि चिराग सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । उनले यस क्रममा उनले ५ चौका र ५ छक्का हिर्काए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए ।
नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए । शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आइसीसी टी२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चार देशीय शृङ्खलामा सहभागी छन् ।

बाइलाइन नेपाल











