कमल थापाज्यू, कुण्ठा त्यागेर आफैँले बनाएको घर बलियो पार्नतिर लाग्नुस्’

बिशभ अधिकारी
२४ माघ २०७८, सोमबार १८:१९

राप्रपाको ऐतिहासिक एकता महाधिवेशनले नेतृत्व परिवर्तन गरेर राष्ट्रिय राजनीतिमा अर्थपूर्ण सन्देश दिन सफल भयो । हामी कहाँ नेतृत्व परिवर्तन गर्न वा हस्तान्तरण गर्न सहज व्यवस्था छैन ।

नेतृत्वमा रहनेले आर्यघाटसम्म नपुगुञ्जेल नेतृत्व छाड्दैनन् । दोस्रो पुस्ता भन्नेहरूले पनि पहिलो पुस्तासँग बार्गेनिङ गरी ‘एडजस्टमेन्ट’ गर्ने र पद जोगाउने कार्य मात्र गर्दै आएका छन् ।

यस पृष्ठभूमिका कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलमा उही पुरानो अनुहार, पुरानै नेतृत्वले निरन्तरता पायो तर त्यसको ठीक विपरीत राप्रपाले कमल थापा जस्तो सशक्त व्यक्तिलाई परिवर्तन गरेर राजेन्द्र लिङदेनलाई अध्यक्ष मात्र बनाएन, सिंगो राष्ट्रिय राजनीतिलाई तरंगित बनायो ।

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा राप्रपाको निर्विकल्प नेता जस्तो देखिन्थे । मानिसहरू कमल थापा विनाको राप्रपाको परिकल्पनासम्म गर्दैन्थे तर समय गतिशील छ । एउटा कालखण्डमा राप्रपालाई एउटा उचाइमा पुर्‍याएका थापाको पछिल्लो कालखण्ड सन्तोषजनक रहेन । खासगरी २०७२ सालको संविधान जारी भएपछि कमल थापाको भूमिका सत्ता र शक्ति प्राप्त गर्न मात्र केन्द्रित रह्यो ।

वर्तमान संविधानलाई उत्कृष्ट भन्दै एजेन्डा छाडेको, राजा र धर्म बेचेर गणतन्त्रको ‘तर’ खाएको आरोप थापालाई लाग्यो । थापामाथि लागेको त्यो आरोपलाई न पार्टीले न उहाँले चिर्न सक्नुभयो । फलतः उहाँको लोकप्रियता घट्यो । कुनै बेला सिद्धान्तमा अडिग, प्रतिकूल र संकटमा आफ्नो विचारमा अविचिलित भनेर चिनिएका कमल थापाको छवि शनैःशनै घट्दै गयो ।

राष्ट्रिय राजनीतिमा उहाँले गरेका थुप्रै निर्णयहरू विवास्पद भए । तत्कालीन राप्रपा नेपालको अध्यक्षको हैसियतमा २४ जना सांसद बनाउँदा पार्टीभित्र योगदान पुर्‍याएका मानिसहरू किनारामा पारिए । क्षमता, योगदान र जिल्लाको मतलाई आधार बनाइएन । आज उहाँले बनाएका एकाध मान्छेबाहेक उहाँको पक्षमा बाँकी १ जना पनि उहाँसँग छैनन् ।

ज्यानको बाजी लगाएर पार्टीमा हिँडेका कार्यकर्ताको मूल्यांकन हुन सकेन । इमान्दारहरू कोपभाजनमा परे, गंगा यादवहरू पुरस्कृत भए । मकवानपुरले समानुपातिकमा राम्रो भोट ल्याएको थियो तर मकवानपुरे परेनन्, विराज विष्ट, दिलनाथ गिरीहरू पुरस्कृत भए । पार्टीभित्र अन्यायपूर्ण व्यवहारको पिरामिड खडा गरियो ।

अध्यक्षका सल्लाहकार र चाटुकारहरूले अध्यक्षसम्म पुग्न सक्ने पहुँचलाई असहज र कठिन बनाए । यस्ता थुप्रै व्यवहारले अध्यक्षको शाख घट्दै गइरहेको थियो तर ती चाटुकारहरूले घेराबन्दी कसिलो बनाउँदै लगे । यिनले अध्यक्षलाई देवत्वकरण गरे, ‘बादशाह नाङ्गै छन्’ भन्ने कथाको बादशाहमा परिणत गराए ।

यति भएर पनि पार्टी संगठन सुदृढ भएको भए धेरै विषयहरू छायाँ पर्थ्यो तर संगठन दिन प्रतिदिन कमजोर हुन थाल्यो । अझ पार्टी एकतापछि नयाँ उत्साह आउला भन्ने कार्यकर्ता त्यतिबेला निराश भए, जब तीन अध्यक्ष तीनतिर फर्केर बस्न थाले । एकले अर्कालाई अल्छी घोडा भन्न थाले, पार्टी गतिहीन भएको दोष एकअर्कालाई थोपर्न थाले, यस्तो परिस्थितिमा दोस्रो पुस्ता जुर्मुराउनु स्वाभाविक थियो ।

यही यथास्थितिले पार्टीकोे संगठन, विचार, नीति अवसानको बाटोतर्फ अग्रसर देखिन थाल्यो, यही पृष्ठभूमिमा नेतृत्वको माग र मुद्दा प्रबल भएर आयो । धवलशम्शेरको अग्रसरतामा राजेन्द्र लिङ्देन नेतृत्व गर्न तयार भए । महाधिवेशनमार्फत कार्यकर्ताले उनलाई जिताए, पत्याए, पार्टीको बागडोर सुम्पिए ।

लोकतान्त्रिक पार्टीमा हार र जीत स्वाभाविक प्रक्रिया हो । यसपालि राप्रपाले लोकतान्त्रिक अभ्यास गर्‍यो तर निवर्तमान पार्टी अध्यक्षले पराजित परिणामलाई स्वाभाविक र सहज ढंगले ग्रहण गर्न नसकेको देखियो ।

आफ्नो हारको पछाडि निर्मल निवासको हस्तक्षेप रहेको विषय पार्टीले छानबिन नगरेसम्म पार्टी एकता हुन सक्दैन भन्ने ठहरका साथ नयाँ अभियानको थालनी गर्दै हुनुहुन्छ उहाँ । सारा कार्यकर्ता उहाँको भूमिकाबाट पीडामा छन् । पार्टी विभाजन हुने हो कि भन्ने आशंका बढेर गएको छ । नयाँ नेतत्वले पनि सबैलाई समेटेर लैजान सकेको पाइएन । निवर्तमान अध्यक्षको भूतले उहाँलाई सताएको देखिन्छ ।

पछिल्लो चरणमा अध्यक्ष र निवर्तमान अध्यक्षको अहमता र युदवंशीय लडाइँले सिंगो राप्रपाको भविष्य अनिश्चित हुने हो कि भन्ने डर हामी तेस्रो पुस्तालाई छ ।

निर्वाचनको १ हप्ताअघि मात्र एउटा राष्ट्रिय टेलिभिजनमा पूर्व राजाको समर्थन आफूलाई रहेको भनेर ठोकुवा गर्ने निवर्तमान अध्यक्षले आफू पराजित भएपछि निर्मल निवासको हस्तक्षेप भएको अमूर्त विषय मात्र उठान गरेनन्, ४ हजार ५०० महाधिवेशन प्रतिनिधिले मत र विवेक प्रयोग गर्न पाउने सार्वभौम अधिकार समेतको अपमान हुने ढंगले अभिव्यक्ति दिइरहनु उहाँजस्तो व्यक्तित्वका लागि अशोभनिय विषय हो ।

यस्ता क्रियाकलापले उहाँको उचाइ र व्यक्तित्व स्खलित हुँदै गइरहेको हेक्का राख्नु श्रेयस्कर देखिन्छ ।

महाधिवेशबाट वैधानिक रूपमा आएका अध्यक्षसँग सहकार्य गरेर पार्टीलाई बलियो प्रजातान्त्रिक शक्तिको रूपमा निर्माण गर्ने अभियानमा हातेमालो गरेको भए राजनीतिक परिस्थिति राप्रपाको पक्षमा अझ सकारात्मक र परिमाणमुखी देखिने थियो तर उहाँको कदम विचार र सिद्धान्तभन्दा प्रतिशोधको राजनीतितर्फ उद्यत देखिन्छ ।

नेतृत्व परिवर्तनपछि देशव्यापी रूपमा राप्रपाप्रति आकर्षण बढेर गएको छ । पार्टीको लोकप्रियता बढेका कारण पार्टी प्रवेशको लहर देखिएको छ । नेतृत्वको आकर्षण र लोकप्रियतालाई निर्वाचनमा भोटमा परिणत गर्न सके राप्रपा एउटा शक्तिको रूपमा स्थापित हुने थियो तर विडम्बना राजनीति त्यत्ति सहज र सरल बाटोमा हिँड्दैन ।

राजनीतिमा पार्टीको अध्यक्ष पद मात्रै महत्त्वपूर्ण हुँदैन । पार्टीभित्र भूमिका र जिम्मेवारी फरक भए पनि राष्ट्रिय राजनीतिमा योगदान पुर्‍याउन सकिन्छ ।

छिमेकी देश भारतमा नरेन्द्र मोदी पार्टी अध्यक्ष छैनन् तर पनि प्रधानमन्त्रीको रूपमा सफल छन् । कुनै बेला पार्टीमा बलियो पकड बनाएका लालकृष्ण आडवाणीले प्रधानमन्त्री हुने मौका आउँदा अटल वाजपेयीलाई अगाडि सारे । त्यति मात्र होइन, भाजपा अध्यक्ष भइसकेका राजनाथ सिंह, अमित शाह मोदीकै मन्त्रिपरिषद्मा काम गरिरहेका छन् ।

सिंगापुर बनाउने लिकुआन युले प्रधानमन्त्री भएपछि आफ्नै छोरा लिसियन लुङ प्रधानमन्त्रीको मन्त्रिपरिषद्मा सदस्य भएर काम गरे । तसर्थ नेतृत्व क्षमताले स्थापित हुने हो, उमेर र जुनियर, सिनियर, भएर होइन । चिलिका गव्रियल वोरिक ३५ वर्षमा राष्ट्रपति भए भने ७८ वर्षका वाइडन अमेरिकी राष्ट्रपति छन् ।

फिनल्यान्डका सना मरिन ३५ वर्षका प्रधानमन्त्री छन् । संसारका उदाहरणहरूले भन्छ – क्षमता लोकप्रियताको आधारमा नेतृत्व अघि बढ्छ, राप्रपाले पनि नयाँ नेतृत्व चयन गर्‍यो । यही नेतृत्वले भरोसा जागृत गराउँछ, यसैलाई साथ र सहयोग पुर्‍याऊ ।

अझ कमल थापा त राप्रपाको विचारका संवाहक हुन् । यो विचार स्थापित हुँदा उहाँको नाम नै इतिहासमा जीवित रहने हो ।

यो विचारलाई यहाँसम्म ल्याउन ज्यानको बाजी लगाएर हिँडेका आदरणीय नेता कमल थापाले आफैं दुःख गरेर बनाएको घर भत्काएर हिँड्नुहोला भनेर कल्पनासम्म पनि गर्न सकिँदैन । तपाईंको अभिभावकीय भूमिका आज पनि आवश्यक छ, आक्रोश र कुण्ठा त्यागेर आफैंले निर्माण गरेको घरलाई बलियो बनाउनतिर लाग्नुस्, फरक ढंगले हिँडेर जग हँसाउने काम तपाईंजस्तो सम्मानित व्यक्तित्वका लागि किमार्थ सुहाउँदैन, आगे जो विचार !

(लेखक अधिकारी राप्रपा मकवानपुरका जिल्ला प्रवक्ता हुन् ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*