आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

बाइलाइन नेपाल
२३ माघ २०७८, आईतवार ०९:३७

आज विद्याकी देवी सरस्वतीको पूजा-अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । मकवानपुरका संस्थागत तथा सरकारी विद्यालयले आज विद्यालयमा सरस्वतीको पूजा गरेर मनाईरहेका छन् ।

वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड हुने गरे पनि कोरोना संक्रमणका कारण जमघट निषेध गरिएको छ ।

यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ ।

संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग-कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

वसन्त पञ्चमीको धार्मिक र शास्त्रीय महत्त्व

आज माघ शुक्ल पञ्चमी अर्थात वसन्त पञ्चमी पर्व । विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गरेर मनाइदै‌ छ । वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रुपमा पुजा तथा आरधना गर्ने शास्त्रीय नियम रहि आएको छ ।

विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले बिद्या तथा विभिन्न कला साधनाका लागि विशेष फलदायी र पूर्णरुपमा सफल हुने भएकाले आजको दिनलाई विशेष रुपमा व्यख्या गरिएको छ ।

पहिलो पटक विद्या आरम्भ गर्ने बालबालिकाले आजका दिनदेखि अक्षर शुभारम्भ गरेमा बिद्या पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । नाक,कान छेडेर मुन्द्रा, फूली लगाएमा अटल सौभाग्य रहिरहने र सरस्वतीको पूर्ण कृपा रहने शास्त्रमा व्याख्या गरिएको छ । बुद्ध परम्परामा पनि यस पर्वलाई विशेष महत्वका साथ मनाउने प्रचलन छ । ज्ञानकारक ग्रह वृहस्पति तथा भगवान विष्णुको अवतारका रुपमा बुद्ध भगवान्को पुजा गर्ने शास्त्रीय नियम रहि आएको छ ।

हाम्रा सबै सनातन पर्व आध्यात्मिक भावनाले ओतप्रोत छन् । व्रत, पर्व र अनुष्ठानहरु, लौकिक र आध्यात्मिक उन्नतिका सशक्त साधन हुन र यिनीहरुबाट आनन्दको उल्लासका साथै उदात्त जीवन जीउने प्रेरणा मिल्दछ । वास्तवमा सम्पूर्ण सृष्टिको उद्भव आनन्दबाट नै हुन्छ । दुःख, भय, शोक, मोह र अखण्ड आनन्दको प्राप्ति नै सबै व्रत–पर्वहरुको परम् लक्ष्य हो ।

देवी भागवत एवं ब्रह्मवैवर्तपुराणमा वर्णित कथाहरुको आधारमा सबैभन्दा पहिले भगवान् नारायणले वाल्मीकिलाई सरस्वतीको मन्त्र बताउनु भएको थियो । त्यसैको जपले गर्दा उनमा कवित्व शक्ति आएकोे थियो भन्ने कथन छ । जुन मन्त्र यस प्रकार छ– श्रीं ह्रीं सरस्वत्यै स्वाहा। यस मन्त्रको चार लाख जप गर्नाले मन्त्र सिद्धि हुन्छ ।

महर्षि वाल्मीकि, व्यास, वसिष्ठ, विश्वामित्र, शौनक आदि ऋषिहरु वहाँकै साधनाबाट कृतार्थ भए । व्यासजीको सानो व्रतको प्रभावले प्रसन्न भएर सरस्वतीले भन्नुभयो– व्यास, तिमीले मेरो प्रेरणाद्वारा रचिएको वाल्मीकि रामायण पढ । त्यो मेरो शक्तिले गर्दा सम्पूर्ण काव्यहरुको सनातन बीज बनेको छ । त्यसमा श्रीरामको चरित्रको रुपमा म साक्षात् मूर्तिमती भएर रहेकी छु । आफूले चाहेको वर प्राप्त गर्नका लागि विश्वविजय नामक सरस्वती कवचको पनि विशेष व्याख्या गरिएको छ ।

सरस्वतीको यस अद्भूत विश्वविजय मन्त्र तथा कवचलाई धारण गरेर नै व्यास, ऋष्यशृंग, भरद्वाज, देवल, जैगीषव्य आदि ऋषिहरुले सिद्धि पाएका थिए । यस कवचलाई सर्वप्रथम भगवान् श्रीकृष्णले वृन्दावनमा रासलीलाको समयमा ब्रह्माजीलाई सुनाउनुभएको थियो । त्यसपछि ब्रह्माजीले गन्धमादन पर्वतमा भृगुऋषिलाई उपदेश दिनुभयो । सरस्वतीको उपासना कालीको रुपमा गरेर नै कालिदासले ख्याती पाए । गोस्वामी तुलसीदास भन्नुहुन्छ– पापनाश गर्ने भएकीले गंगा र अज्ञान नाश गर्ने भएकीले सरस्वती दुवै समान रुपमा पवित्रताका कारक हुन् ।

विद्या र सद्बुद्धि प्रदान गर्ने भएकाले सरस्वतीका उपासकहरु यस दिन विद्या प्राप्तिको उद्देश्य लिएर निष्कपट एवं शुद्ध भावनाले दिव्यता र भव्यताका साथ भगवती सरस्वतीको आराधना गर्दछन् । हरेक कार्यहरु गर्दा भावना अर्थात् विचारको ठूलो महत्त्व हुन्छ । यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी अर्थात् जसले जस्तो भावना लिएर कार्य गर्दछ, फल पनि अवश्य नै तदनुरुप मिल्दछ । त्यसैले हामी सबैले सद्बुद्धि प्राप्त होस् भन्ने भावना लिएर सरस्वती पूजा गर्दा अवश्य राम्रो हुन्छ ।​

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*