आईपीएलको अक्सनमा नेपालबाट सन्दीपमात्रै
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा परेका छन् ।नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराए पनि सन्दीपमात्रै अक्सनका लागि छनौट भएका छन् । अक्सनका लागि सन्दीपको न्यूनतम मुल्य ४० लाख भारु (६४ लाख नेपाली रूपैँया) तोकिएको छ ।
सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । यसअघि तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपलाई गतसिजन कुनै फ्रेन्चाइज टोलीले भित्र्याएनन् । यसपटक अक्सनमा कुनै टोलीले उनलाई भित्र्याउनका लागि कम्तीमा ४० लाख भारु खर्च गर्नुपर्ने हुन्छ ।
आईपीएलका तीन सिजनमा नौ खेल खेलेका सन्दीपले १३ विकेट लिएका छन् । यसअघि नेपाली टोलीबाट सन्दीपसँगै आरिफ शेख, आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, अविनाश बोहरा, विनोद भण्डारी, सरद भेषवाकर, कुशल मल्ल, करन केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले अक्सनका लागि नाम दर्ता गराएका थिए ।

बाइलाइन नेपाल











