दक्षिण अफ्रिकामा भारत निरीह
दक्षिण अफ्रिकाले आइतबार राति भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला ३–० ले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा भारत चार रनले पराजित भयो ।
शृंखलामा पराजित भए पनि भारत अन्तिम खेल जितेर टिमको मनोबल उच्च राख्न चाहन्थ्यो । तर, आफूअनुकूलको पिचमा पनि भारतले विजय हासिल गर्न सकेन ।
भारत नियमित कप्तान रोहित शर्माबिना खेलेको थियो । चोटका कारण रोहितले यो शृंखला गुमाएका थिए । रोहितबाहेक भारतीय टोलीमा अरू महत्त्वपूर्ण सबै खेलाडी थिए । तर पनि भारत जित निकाल्न असफल रह्यो ।
‘‘हामीले धेरै खराब सटहरू खेल्यौँ । त्यस्तै, हामीले बलिङ पनि सही ठाउँमा फ्याँक्न सकेका थिएनौँ,’’ कप्तानको जिम्मेवारीमा रहेका केएल राहुलले भने, ‘‘त्यसकारण हामीले शृंखला गुमाउनुपर्यौं । हामीले एक टिमका रूपमा कसरी राम्रो गर्न सक्छौँ भन्ने सोच्नुपर्छ ।’’
ओपनर क्विन्टन डी ककले १२४ रन बनाएपछि केपटाउनमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दक्षिण अफ्रिकाले ४९.५ बलमा सबै विकेट गुमाएर २८७ रन बनाएको थियो । २८८ रनको लक्ष्य पछ्याएको भारतले ४९.२ ओभरमा २८३ रन बनाउँदा सबै विकेट गुमायो ।
दक्षिण अफ्रिकाका लागि डी ककबाहेक रसी भान डेर डुसानले ५२ रन बनाए । डेबिड मिल्लरले ३९ रन जोडे । भारतका प्रसिध कृष्णले तीन तथा दीपक चहर र जसप्रित बुमराहले समान दुई विकेट लिए । युजभेन्द्र चाहलले एक विकेट लिए ।
भारतका लागि पूर्वकप्तान विराट कोहलीले सबैभन्दा धेरै ६५ रन बनाए । शिखर धवनले ६१ रन बनाए । चाहरले ५४ रन बनाउँदा सूर्यकुमार यादवले ३९ रनको योगदान गरे ।
दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी र एन्डिल फेलुकवायोले समान तीन विकेट लिए । ड्वाइन प्रेटोरियसले दुई विकेट लिँदा सिसान्दा मालागा र केशव महाराजले एक/एक विकेट लिए ।
दक्षिण अफ्रिकाले पहिलो खेलमा ३१ र दोस्रो खेलमा सात विकेटको विजय हासिल गरेको थियो । त्यसअघि, दक्षिण अफ्रिकाले तीन खेलको टेस्ट शृंखला पनि २–१ ले जितेको थियो ।

बाइलाइन नेपाल











