कोरोना नियन्त्रणमा स्थानीय तहसँग समन्वय नभएको काठमाडौं महानगरपालिकाको गुनासो
कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले गुनासो गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताएका हुन् ।
कोभिडको अघिल्ला लहरहरुमा सरकारी संयन्त्रले स्थानिय तहसँगको समन्वयमा मात्र हरेक निर्णयहरु गरेका कारण क्षति कम बेहोर्नुपरेको भन्दै स्थानिय तहसँग समन्वय गरेर अगाडि बढेमा क्षति कम हुने उनले उल्लेख गरे । उनले जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समानान्तर रुपमा हिँडिरहेको अनुभुति भएको उल्लेख गरे ।
उनले कोभिड–१९ विरुद्धको खोप दिन ढिलाइ भइरहेको भन्दै महानगरपालिकालाई खोपको जिम्मेवारी दिए सहज रुपमा सबैलाई खोप दिन सक्ने पनि बताए । प्रमुख शाक्यले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्ने भएकाले उपत्यका भित्र, बाहिर हुने आवतजावतमा गृह प्रशासनले कडाइ गर्नुपर्ने पनि बताए । काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने मन्त्रिपरिषद्को निर्णयले जिल्ला प्रशासन कार्यालय अथवा डिसीसीएमसीलाई तोकेको जिम्मेवारी अनुसार नै काम गरेको बताए । प्रशासन सरकारी निर्णयको कार्यान्वयन गराउने निकाय मात्रै भएको उल्लेख गर्दै प्रशासनले छुट्टै प्रकारको निर्णय नगरेको स्पष्ट पारे ।

बाइलाइन नेपाल











