थारूहरूमा माघीको महत्व

श्रीराम चौधरी
३० पुष २०७८, शुक्रबार १२:०३

माघे संक्रान्ति भन्नाले माघ महिनाको पहिलो दिनलाई बुझाउँछ । विक्रम संवतको गणनाअनुसार माघ बर्षको दसौँ महिना हो । संक्रान्ति संस्कृत शब्द हो र पूर्वीय दर्शनअनुसार संक्रान्ति भन्नाले सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गरेको दिन भन्ने बुझिन्छ । एकदमै सामान्य अर्थमा भन्ने हो भने नेपाली पात्रोअनुसार प्रत्येक महिनाको पहिलो दिनलाई संक्रान्ति भनिन्छ । त्यसैले स्वाभाविक रूपमा वर्षमा बाह्रवटा संक्रान्ति हुन्छन् । माघे संक्रान्ति भनेको धनु राशिबाट मकर राशिमा सूर्यको प्रवेश भन्ने बुझिन्छ ।

थारू दर्शनअनुसार सूर्यको स्थितिलाई एक वर्षमा बाह्र राशिमा विभाजन गरिएको छ । तथापि विक्रम संवत,राशी र नक्षत्र पात्रोलाई भिडाएर हेर्न निकै कठिन छ । परम्परागत पात्रोहरू नक्षेत्रका आधारमा गणना हुन्छन् । संक्रान्तिलाई एक सौर्य मण्डलको घटनाका रूपमा लिइन्छ । त्यसैले,नेपाली पात्रोहरू ग्रह र नक्षत्रका आधारमा तयार हुन्छन् र माघे संक्रान्ति पनि त्यस्तै हो,जुन कुरा थारूहरूले माघीमा गाइने ढुमरु गीतबाट पनि प्रष्ट हुन्छ ।

माघे संक्रान्तिबाट पुण्य तिथिको प्रारम्भ हुने थारूहरूको विश्वास छ,जुन दिन जाडोको अन्त्य र गर्मी मौसमको सुरुवातको रूपमा पनि लिइन्छ । अर्को अर्थमा यस दिनलाई कष्टकर दिनको अन्त्य र रमाईला तथा पुण्य हुने चाडपर्व प्रारम्भ हुने पर्वको रूपमा पनि लिइन्छ । सामान्य अर्थमा माघीलाई जाडोको अन्त र बसन्त ऋतुको प्रारम्भका रूपमा पनि लिने गरिन्छ । माघीलाई प्रत्यक्ष रूपमा सूर्यदेवसँग सम्वन्धित पर्वको रूपमा पनि लिइन्छ । भगवान सूर्यलाई शक्ति,अस्तित्व,बुद्धि र स्वाभिमानको प्रतीकको रूपमा थारूहरूले आराधना गर्ने प्रचलन छ । विहान स्नान गर्न जानेबेला थारूहरूले यस्तो भाकामा गीत गाउँछन् “सुरुजमा लागे गहनवा रे चोलो,कासी रे लहान” यसको अर्थ हुन्छ कि आजको स्नान भनेको सूर्यग्रहण लाग्दा काशीमा स्नान गर्नुभन्दा पुण्य हुन्छ । थारूहरूको धार्मिक पात्रोअनुसार सूर्यले आजको दिनदेखि उत्तरी ध्रुवको यात्रा गर्छ । माघबाट नै नयाँ वर्षको सुरुवात हुन्छ । २०७८ माघ १ बाट थारू संवत २६४५ लाग्दैछ ।

विहान सूर्य उदय हुनुभन्दा पहिले नदी र कुण्डमा स्नान गरिन्छ । स्नान गर्दा प्रायः त्रिवेणी,दोभान वा पुण्य कहलिएका नदी र ताल तलैयाहरूमा स्नान गर्ने चलन छ । दाङको रिहार कुण्ड र लरैना कुण्ड,पाटनको शंखमुल,काभे्रको दोलालघाट र त्रिवेणी घाट,मुस्ताङको बराह क्षेत्र आदि स्थान माघी स्नानको लागि पुण्यस्थल मानिन्छन् । यी स्थलमा स्वदेशी तथा भारतबाट पनि ठूलो संख्यमा श्रद्धालुहरू माघीमा स्नान गर्न आउँछन् । काठमाडौंमा स्नानपछि अजिमा माता र रातो मछिन्द्रनाथको पूजा गर्ने चलन छ । निपुत्र दम्पतिहरूको लागि माघी स्नानले विशेष महत्व राख्छ । यसबेला उनीहरूले ब्रह्मसँग पुत्रलाभको कामना गर्दै भाकल गर्ने र सन्तान प्राप्तीपछि बली दिने चलन छ । माघीमा थारूहरूको घरघरमा धुनी बाल्ने चलन छ र रातभरी बुढापाकाहरूले ढुमरु गीत गाउने चलन छ । त्यस्तै नदी किनारमा पनि धुनी बाल्ने चलन छ ।

माघी नेपालीहरूको ठूलो पर्वहरूमध्ये एक हो भने थारूहरूको सबैभन्दा ठूलो पर्व हो । थारूहरूले हप्ता दिनसम्म यस पर्वलाई धुमधाम साथ मनाउँछन् । २०५९ सालमा नेपाल सकारले माघीलाई राष्ट्रिय पर्व घोषणा गर्यो । खास गरी थारू जातिमा यस पर्वलाई विगत वर्षको समीक्षा र आउने नयाँ वर्षको योजना तथा तद्अनुरूपको नेतृत्व चयन गर्ने पर्वको रूपमा लिइन्छ । यस पर्वसँगै जाडो हटेर जान्छ र नेपालको तराई क्षेत्र खासगरी थरुहट क्षेत्र गीत र संगीतले गुञ्जायमान हुन थाल्दछ ।

माघीको लागि पुस मसान्तको दिन नै मासु,माछा र अन्य परिकारको जोहो गरी पकाईन्छ, किनकि संक्रान्तिको दिन काटमार निषेध हुन्छ । त्यसैले,पुस पकावा,माघ खावा भन्ने चलन पनि छ । यस पर्वमा बखेरी बस्ने र गएको वर्षमा भएका झैझगडा,भएका मनमुटावलाई फुक्का गरी एकापसमा क्षमादान माग्ने, दिने तथा सुमधुर सम्वन्ध नविकरण गर्ने चलन पनि छ । त्यसैले यसलाई हँसीखुशीको पर्व पनि भनिन्छ । यस पर्वमा संयुक्त रूपमा मघौटा नाच नाच्ने पनि चलन छ,जुन हिजोका दुःखसुखप्रति विलौना र सुन्दर भविष्यको कल्पना तथा रोमान्सले भरिपूर्ण हुन्छ ।

खास गरी संक्रान्तिको विहान नजिकैको नदीमा स्नान गरी फर्केर आई त्यस वर्षमा उत्पादन भएका चामल,दाल,गेडागुडी तथा नुन निस्राउको नाममा छुट्टयाउने चलन छ । निस्राउ विवाहित चेलीलाई दिने चलन छ । यस प्रचलनले दाजुभाइ र दिदी बहिनीबीच पनि प्रगाढ र सुमधुर सम्बन्धलाई अझ निख्खर पार्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*