ठेकेदारको बेवास्ताले राप्ती राजमार्ग निर्माणमा ढिलासुस्ती

बाइलाइन नेपाल
२८ पुष २०७८, बुधबार १३:२२

राप्ती राजमार्ग कपुरकोट-चोरखोला सडकखण्डको स्तरोन्नतिमा ढिलासुस्ती भएको छ । ठेकेदार कम्पनीको बेवास्ताले काममा ढिलाइ भएको हो । २०७७ साउनमा सडक डिभिजन कार्यालय दाङले श्यामशंकर जेभीलाई करिब १० करोड रुपैयाँमा सडक स्तरोन्नतीको जिम्मा दिएको थियो । एक वर्षमा सक्ने गरी भएको सम्झौता फेरि ६ महिना थपे पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्र काम सकिएको छ ।

ढिलाइका कारण यात्रुले सास्ती भोग्दै आएका छन् । राजमार्गको स्तरोन्नतिमा लामो समयदेखि बेवास्ता भएको कपुरकोटका कमल शर्माले बताए । अहिले कपुरकोटदेखि चोर खोलासम्मको आठ किलोमिटर सडकमा स्तरोन्नतिको काम चलिरहेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय प्रशासनले दैनिक आठ घन्टा यातायात बन्द गरे पनि ठेकेदार कम्पनीले खासै काम गरेको देखिएको छैन । विगतमा राजमार्गलाई चौडा बनाउन र कालोपत्रे गर्न आएको झन्डै एक करोड रकम फ्रिज हुनु सडक डिभिजन कार्यालयको लापरबाही भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईँले राजमार्गअन्तर्गत कपुरकोट-चोरखोला सडकमा स्तरोन्नति हुन थालिएपछि दैनिक आठ घन्टा सडक बन्द भइरहेको बताइन् । सडक डिभिजन कार्यालय दाङका प्रमुख रामकुमार जैसवालले स्तरोन्नति गरिरहेको सडकखण्डमा बाह्रै महिना पहिरो खस्ने भएकाले काममा ढिलाइ भइरहेको बताए ।

करिब १० करोड रुपैयाँ बजेटबाट सडक स्तरोन्नतिको काम भइरहेको उनले जानकारी दिए । यो वर्ष कपुरकोटदेखि खारासम्मको ७६ किलोमिटर सडक मर्मतमा थप २३ करोड ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*