तेमाल क्षेत्रका पचपन्न हजारलाई चैतभित्र घरमै स्वच्छ खानेपानी

बाइलाइन नेपाल
२५ पुष २०७८, आईतवार १४:३६

आउँदो चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई घरघरमा स्वच्छ खानेपानी पुर्याइने भएको छ । गत मङ्सिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो ।

तेमाल वृहत खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा करिब एक वर्ष पछि धकेलिएको हो । उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपानी पुर्याउने गरी आयोजनाको मर्मत लगायतका काम भइरहको जनाएको छ ।

“आउँदो चैतभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ” समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने। उनका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९८ प्रतिशत काम सकिएको जनाइएको छ । हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताए । उनका अनुसार १२ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने थप ११ ट्याङ्कीमा परीक्षणको काम भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्की सम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

लामाका अनुसार उक्त आयोजनाबाट तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई खानेपानी उपलब्ध हुनेछ । लिफ्टिङ प्रविधिबाट यो खानेपानी आयोजना सञ्चालन गरिने छ । यसको मुहान सुनकोशी नदी किनारमा छ । यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीमा कटान सुरु गरेको थियो ।

त्यससँगै यही साउन १७ र १९ गतेको बाढीले क्षति पुर्याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण गरिएको लिफ्टिङ ट्याङ्कको जोखिमलाई सुरक्षित गरिएको हो । “यो वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको पु¥याएको थियो, हामीले मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने सकेका छौँ” लामाले भने ।

उनका अनुसार बाढीले आयोजनाको रु साठी लाखभन्दा बढी क्षति पुर्याएको थियो भने करोडौंका संरचनालाई जोखिम पुर्याएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजार नागरिकका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालिकाको नौ वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । आयोजनाको काम सकेसम्म छिटो सक्नेगरी कामलाई तीव्रता दिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘आउँदो चैतभित्र घरघरमा खानेपानी पु¥याउन हामी खटिरहेका छौँ ।’

वि.सं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम गत साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि कारोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पुर्याउँदा केही धकेलिएको हो । लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन विछ्याइने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।

“विपद्ले नरोके आउँदो चैतभित्र खानेपानी वितरण गर्नेगरी तीव्रगतिमा काम गरिरहेका छौँ” उनले भने । भूकम्प लगत्तै खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तरखरमा थिए, तर वृहत खानेपानी आयोजनाले रोकेको बताइन्छ ।

याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*