शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा

बाइलाइन नेपाल
२३ पुष २०७८, शुक्रबार १२:४१

मानवअधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको छ । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर– ४ मा परिषद् बैठक आयोजना हुन लागेको सभापति गोविन्द खनालले जानकारी दिए ।

‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ भन्ने मूल आव्हानसहित परिषद् बैठक सम्पन्न हुन लागेको हो । राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ । राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अङ्ग हो ।

चार जना केन्द्रीय सदस्यको राजीनामा स्वीकृत

शान्ति समाजको बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले चार जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएको सम्बन्धमा, उनीहरुले शान्ति समाजमा गरेको योगदानप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै राजीनामा स्वीकृत गरेको छ ।

दुर्गा राना (लक्ष्मी), निर्मला सुवेदी, गणेश पौडेल र सन्तोष रौनियारले शान्ति समाजको अभियानमा सदैव साथ र सहयोग रहने प्रतिबद्धतासहित हाल आफ्नो राजनीतिक सक्रियताका कारण जनाई राजीनामा दिएका हुन् । शान्ति समाजको ३३ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २९ सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*