उजुरी परेपछि विनोद चौधरीले भने– विधानसम्मत निर्वाचित भएको हुँ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४ औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् । महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफै सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उनले प्रतिक्रिया दिएका छन् ।
‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन ?’ केन्द्रीय सदस्य चौधरीले भने, ‘आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन ।’
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरि विजय भएका थिए । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए । निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी दिएका थिए ।
‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छु । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ,’ चौधरीले भने, ‘म नेपाली कांग्रेसका होनहार कार्यकर्ताहरूबाट अनुमोदन भएर केन्द्रीय सदस्य पदमा निर्वाचित भएको हुँ । यसैगरि निर्वाचित हुने हक हरेक उम्मेदवारलाई थियो । तर, निर्वाचनमा पराजय भएपछि निर्वाचितहरूलाई लान्छित गर्नु भनेको आम कार्यकर्ताहरूको अपमान पनि हो ।’
केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि चौधरी काँग्रेस महासमिति सदस्य थिए भने उनी सांसद पनि हुन् ।

बाइलाइन नेपाल











