काँग्रेस मकवानपुरको सभापतिका लागि मैदानमा उत्रिए आन्नदराम पराजुली
नेपाली काँग्रेसले १४ औं महाधिवेशनअघि बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ । प्रदेश २ का ८ जिल्ला र बागमतीका ४, गण्डकीको १, लुम्बिनी प्रदेशको एक र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा अधिवेशन हुन बाँकी छ ।
बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा काँग्रेस जिल्ला अधिवेशनको चहलपहल सुरु भएको छ । वर्तमान जिल्ला सभापति इन्द्र बानियाँ बागमती प्रदेश सभापति बनेपछि मकवानपुरमा नयाँ नेतृत्व आउनेछ ।
त्यसका लागि उपसभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा, अशोक शाक्य र आनन्दराम पराजुली देउवा समूहबाट सभापतिमा दाबी गरिरहेका छन् । नेता प्रकाशमान सिंह निकट नेविसंघका महामन्त्री प्रभात दाहाल र शेखर कोइराला निकट रघुरमण न्यौपान पनि सभापतिको आकांक्षी देखिएका छन् ।
यसैबीच काँग्रेस मकवानपुरको सभापतिमा पराजुलीले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा व्यस्त भएका छन् । चर्चामा रहेका उम्मेदवार मध्ये बलियो मानिएका पराजुलीले औपचारिक रुपमा सचिवालय निर्माण गरेर उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका निवर्तमान नगर सभापति समेत रहेका पराजुलीलाई प्रदेश सभापति बानियाँको समेत समर्थन गर्ने स्रोतले बताएको छ । बानियाँलाई प्रदेश सभापति बनाउन सहयोग गरेका पराजुलीलाई जिल्ला सभापतिमा उनले समथृन गर्ने जनाइएको छ ।
यस्तै पराजुलीलाई पार्टीका सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यायको पनि साथ र समर्थन रहेको छ । लामो समयदेखि सभापतिको तयारी गरेका पराजुली कार्यकर्ता माझ पनि लोकप्रिय रहेका छन् । अहिले उपाध्याय, बानियाँ र पराजुली देउवा समूहमा रहेका कारण पनि उनि बलियो उम्मेदवार रहेको काँँग्रेसीहरु नै बताउने गर्छन् ।
कांग्रेस सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना
नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरेका छन् । जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् ।
जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताए । ‘म सभापतिको पक्का उम्मेदवार हुँ ।’ उनले भने, ‘पार्टीका क्षेत्रीय प्रतिनिधि र सम्पूर्ण कार्यकर्ताको मत र मन जितेरनै म सभापतिका लागि अघि बढेको हुँ, यसै शिलशिलामा हेटौंडा–२ कांग्रेस चोकमा सचिवालय स्थापना गरेर चुनावी प्रचारप्रसारलाई तीब्रता दिइएको हो ।’

विगत ३ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय भूमिकामा रहेका पराजुली यस पटकको जिल्ला अधिवेशनमा सभापतिका रुपमा उम्मेदवारी दिन पक्का देखिएको छ । पाँच पटक महाधिवेशन प्रतिनिधि, हेटौंडा उपमहानगर सभापति र जिल्ला सचिवसमेत भइसकेका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगर मेयर झिनो मतान्तरले पराजित भएका थिए ।
संगठन विस्तार, पार्टीको विकास र जिल्लामा कांग्रेसलाई उकास्न निरन्तर लागि परेका पराजुलीले केहि दिनमै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् । सचिवालय स्थापनाको सन्दर्भमा प्रतिक्रिया दिँदै पराजुलीले केहि दिनमै पूर्ण कार्यसमितिका उम्मेदवारसहितको प्यानल घोषणा गरेर चुनावी मैदानमा होमिने बताए । उनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि मतदातालाई आफ्नो सचिवालयमा आउनसमेत अनुरोध गरेका छन् ।

बाइलाइन नेपाल











