जेलमा बसेर लागु औषधको चेन स्थापना : १७ जना पक्राउ
काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट लागु औषध नियन्त्रण ब्युरोले ७ हजार एम्पुल लागु औषध सहित १७ जनालाई पक्राउ गरेको छ । आरोपीहरूबाट डाइजेपाम २ हजार ३१६ एम्पुल, फेनारगन २ हजार ३५० एम्पुल र नुर्फिन २ हजार ३३४ एम्पुल बरामद गरेको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सिन्धुली घर भएका २३ वर्षीय संग्राम मुक्तान, पञ्च स्याङतान, मोरङ घर भएका सुरज सिंह ठकुरी र काठमाडौँको बालाजु बस्ने दीपक महर्जन सहित १७ जना छन् । आरोपीहरूलाई सिन्धुली कारागारमा जेल भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले लागु औषध पठाउन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरु र गुड्डु गुप्ताको बिचमा सो कारागारमा जेल भुक्तान गरिरहेका सन्तोष स्याङतानले फोन सम्पर्क गराउँदै आएको ब्युरोका एसएसपी हृदय थापाले बताए ।
सिन्धुली कारागारमा टेलिफोन नाइके रहेका स्याङ्तान र गुड्डुलाई अहिले जेल सरुवा गरेर रौतहट कारागारमा पठाइएको छ । गुड्डु गुप्ताले जेलबाटै लागु औषध कारोबारको चेन स्थापना गरेर मासिक १५ हजार तलव दिनेगरी संग्राम मुक्तान, पञ्च स्याङ्तान र सुरज सिंह ठकुरीलाई परिचालन गरेका थिए ।
लागु औषध बेचेको पैसा गुप्ताले भनेअनुसार आरोपीहरूले कारागार कार्यालय सहयोगी रिता सारुमगर लगायतका नाममा मनि ट्रान्सफरबाट पठाउने गरेका थिए । गुड्डु २०६८ मा ७ सय ग्राम खैरो हेरोइन सहित पक्राउ परेका थिए । ०६९ कार्तिकमा काठमाडौँ जिल्ला अदालतले उनलाई १८ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
सन्तोष स्याङ्तानलाई २०७६ मा प्रहरीले सिन्धुलीबाट ५५ किलो गाँजा सहित पक्राउ गरेको थियो । जिल्ला अदालतले उनलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेपछि उनी रौतहट कारागारमा जेल भुक्तान गरिरहेका छन् ।

बाइलाइन नेपाल











