नेपाल रेल्वे कम्पनीमा जागिर लगाइदिने भन्दै ठगी, एक जना पक्राउ

बाइलाइन नेपाल
२० पुष २०७८, मंगलवार १६:२७

नेपाल रेल्वे कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका–७ स्थित दनौली बनौली बस्ने ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्तिलाई नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा धनुषाको जनकपुरधामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आइतवार राति जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

आरोपित चौधरीले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्रलगायतका कागजातहरु देखाएर विभिन्न व्यक्तिलाई जागिर लगाइदिने भन्दै ठगी गरिरहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपित चौधरीको साथबाट लोक सेवा आयोगको नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ति पत्र, शपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लिमिटेडको राजेश कापर नामको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत वीरगंज लेखिएको रबर छाप बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीसमक्ष प्रारम्भिक बयान दिँदै चौधरीले लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजात तयार गरी स्थानीय मानिसहरुसँग रकम लिने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

आरोपित चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शीर्षकमा ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*