बुढ्यौलीको वार्षिकोत्सवमा साहित्यकारलाई सम्मान
हेटौडा । हेटौँडामा रहेको बुढ्यौली साहित्य समाजले आफ्नो प्रथम वार्षिकोत्सव कार्यक्रम हेटौँडामा एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष आरसी रिजालको अध्यक्षता तथा अग्रज साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वार्धक्य वाङ्मय सम्मानबाट अग्रज साहित्यकार तथा पत्रकार नवराज शर्मालाई पच्चिस हजार नगदसहित सम्मान गरिएको छ ।
त्यसैगरी दामोदर रिजाल, आरसी रिजाल र मोहन रिजालले आफ्ना पिताका नाममा स्थापना गरेको तोयनाथ रिजाल स्मृति साहित्य सम्मान नवलपरासीका कवि दुर्गा क्षेत्रीलाई समर्पण गरिएको छ । सम्मानको राशि बिस हजार नगदरहेको जानकारी संस्थाका सचिव राजकुमार लामिछानेले दिए । कार्यक्रममा संस्थाका परिकल्पनाकार कृष्णमुरारि गौतम (चट्याङ) मास्टरको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा समाजसेवी पुरनबहादुर जोशी तथा सीता रिजालले जनही १र१ लाख संस्थालाई दिने घोषणा गरे भने बिन्दुगोपाल गोर्खाली, माधव भण्डारी र सुभद्रा हुमागाईंले जनही पाँच हजार उपलब्ध गराएका थिए । कार्यक्रममा सर्लाही, रौतहट, चितवन, नवलपुर, काठमाडौँ, भक्तपुर लगायतका जिल्लाहरूबाट साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दाताहरुको तर्फबाट शिक्षासेवी पुरनबहादुर जोशी, पूर्वप्रशासक तीर्थराज पराजुलीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बुढ्यौली साहित्य समाज चितवनका अध्यक्ष बाबुराम पाण्डे, उपाध्यक्ष इन्द्रराज पौडेल, कोषाध्यक्ष डीआर पोखरेल, सचिव भूमिश्वर शर्मा भावुक र आजिव सदस्य उदयनाथ रेग्मीको आतिथ्यता रहेको थियो । यस्तै भक्तपुरबाट चागुनारयाण साहित्य समाज भक्तपुरका अध्यक्ष लालबहादुर भुजेल, सदस्य वसन्ती भुजेल, छन्द कवि कविराज घिमिरेको पनि आतिथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा सर्लाही साहित्य समाजका उपाध्यक्ष राजेश्वरी काफ्ले र रौतहटका मुक्तककार हरिकृष्ण काफ्लेको आतिथ्यता रहेको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्य संगम र आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, नेपाली लेखक संघका अध्यक्ष छवि अनित्य, पिएम सेन्टरका संयोजक प्रमेन्द्र महर्जन, सिस्नुपानी मकवानपुरका उपाध्यक्ष मिनप्रसाद लामिछाने, झरना साहित्यिक परिवारका उपाध्यक्ष चीरञ्जीवी लामिछाने, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कविता वाचन गर्नेहरुमा माधव भण्डारी रश्मी, सिता शर्मा रिजाल, पुर्षोत्तम आचार्य, बाबुराम पाण्डे रहेका थिए । कार्यक्रम स्वागत मन्तव्य समाजका उपाध्यक्ष रामचन्द्र आचार्य फूर्सदीले गरेका थिए भने कार्यक्रमको सहजीकरण समाजका सचिव राजकुमार लामिछानेले गरेका थिए । कार्यक्रममा अक्षय अक्षर त्रैमासिकको बुढ्यौली साहित्यक अंक विमोचन गरिएको थियो ।

बाइलाइन नेपाल











