फुटबलरको घरमा चोर पस्यो, श्रीमतीलाई जोगाउन खोज्दा घाइते
म्यान्चेस्टर सिटीका डिफेन्डर जोआओ क्यान्सेलोले एउटा खराब अनुभव झेल्नुपर्यो । चारजना चोरले बिहिबार क्यान्सेलोको घरमा चोर्ने उद्देश्यले हमला गरे । फुटबलर जोआओ क्यासेलोले इन्स्टाग्राममा यसबारे जानकारी दिएका हुन् । उनले घरमा डकैती भएको र यतिबेला आफूमाथि कुटपिट पनि भएको बताए । उनको दाहिने आँखाको माथिल्लो भागमा चोट लागेको छ ।
पोर्चुगलका २७ वर्षीय जोआओ क्येन्सेलोले बताए अनुसार उनी आफ्नो परिवारको रक्षाका लागि बदमाससँग भिडे । त्यतिबेला क्यान्सेलोसँग उनकी पार्टनर डेनिएला मचाडो र २ वर्षकी छोरी एलिसिया पनि थिइन् । क्यासेलोले इन्स्टाग्रामा आफ्नो अनुभव बाँड्दै लेखे, ‘दुर्भाग्यले आज केही कायरले हाम्रो घरमा हमला गरे र मेरो परिवारलाई चोट पुर्याउने कोसिस गरे ।’
क्यान्सेलोका अनुसार चोरहरुले उनको घरबाट गर–गहना लैजान सफल भए । यद्यपि, उनको परिवारलाई यतिबेला कुनै हानी भने भएन । क्यासेलोको क्लब म्यान्चेस्टर सिटीले बयान जारी गर्दै क्लबले उनलाई पूर्ण रुपमा मद्दत गरिरहेको र प्रहरीले आफ्नो अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
म्यान्चेस्टर सिटीले जारी गरेको बयानमा भन्यो, ‘जोआओ क्यासेलोको घरमा डकैती भएको र उनीमाथि हमला गरिएको खबरले हामी हैरान छौं । उनको परिवारलाई क्लबको पूरा समर्थन छ । जोआओ आफैंले पनि यो मामिलालाई गम्भीरताका साथ लिइरहेका छन् र उनले प्रहरीलाई अनुसन्धानमा पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

बाइलाइन नेपाल











