वैदेशिक व्यापार : उछालिएको नेपालको निर्यात कति भरपर्दो ?

कूल निर्यात १ खर्ब, खानेतेल मात्रै ६० अर्ब
बाइलाइन नेपाल
१५ पुष २०७८, बिहीबार ११:४३

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय नेपालको निर्यात व्यापार सुधारिन थालेको छ । यसअघि, वार्षिक दशौं खर्बौं रूपैयाँको आयात गर्ने नेपालले वर्षभरिमा मुस्किलले एक खर्बको निर्यात गथ्र्यो । गत आर्थिक वर्ष २०७७/७८ मा निर्यात व्यापारको इतिहासमै पहिलो पटक नेपालबाट १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात भएको थियो । त्यसअघि, नेपालले वर्षभरिमा विदेशी मुलुकलाई एक खर्ब रूपैयाँको सामान पनि बेच्दैनथ्यो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमै एक खर्ब रूपैयाँभन्दा बढीको निर्यात भएको देखाएको छ । यसअघि गत आर्थिक वर्षमा एक खर्ब निर्यातको आँकडा पार गर्न १० महिना लागेको थियो । अर्थात आर्थिक वर्ष २०७७/७८ को साउन–वैशाख अवधिमा नेपालबाट एक खर्ब रूपैयाँभन्दा बढीको निर्यात भएको विभागले जानकारी दिएको छ ।

गत वर्षको चैत महिनासम्ममा नेपालबाट जम्मा ९४ अर्ब रूपैयाँको निर्यात भएको थियो । जुन, वैशाख महिनासम्ममा नेपालबाट पहिलोपटक एक खर्ब ८ अर्ब रूपैयाँको निर्यात भएको तथ्यांक विभागले सार्वजनिक गरेको थियो । यसले नेपालको निर्यात व्यापार गत आर्थिक वर्षदेखि सुधारिँदो अवस्थामा देखिएको छ । गत आर्थिक वर्षदेखि निर्यात व्यापारमा खर्बको आँकडा पार गर्न लागेको नेपालले यस वर्ष पाँच महिनाको छोटो अवधिमै खर्ब रूपैयाँभन्दा बढीको निर्यात व्यापार गरेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा एक खर्ब २ अर्ब रूपैयाँको निर्यात भएको छ ।

भन्सार तथ्यांकलाई सरसर्ती केलाउँदा सुधारिएको देखिएपनि निर्यातको ६० प्रतिशत हिस्सा आयातित खानेतेलले ओगटेको छ । जसले नेपालको निर्यातलाई विदेशबाट आयात भएको खानेतेलले नै धानेको देखिन्छ । चालू आर्थिक वर्षको ५ महिना अवधिमा नेपालबाट ६० अर्ब रूपैयाँको खानेतेल निर्यात भएको छ ।

यो अवधिमा नेपालबाट सबैभन्दा बढी खानेतेल निर्यात भएको छ । विभागको तथ्यांकअनुसार ६० अर्ब रुपैयाँ बराबरको खानेतेल मात्रै निर्यात भएको छ । जसमध्ये ३० अर्बको भटमास तेल, २७ अर्बको पाम तेल (कच्चासहित) र दुई अर्बको सुर्यमूखी तेल निर्यात भएको छ । यस्तै, ६ अर्बको धागो, २ अर्बको अलैँची, डेढ अर्बको चिया, २ अर्बको फलफुल जुस, १ अर्बको उनीफेल्ट, ३ अर्बको टेक्सटायल लगायतका वस्तु निर्यात भएको विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले पछिल्लो आर्थिक वर्षहरूमा नेपालको निर्यात बढ्न थालेको बताए । उनले भन्सार प्रक्रियामा आएको सुधार र उद्योगधन्दाहरू र औद्योगिक उत्पादन बढ्दा निर्यात सुधारिन थालेको बताए । खासगरी, पछिल्लो समय भन्सार विभागले ‘फेसलेस’ सेवा दिने योजना अगाडी बढाएको छ । यस योजनाअन्तर्गत आयात/निर्यातसम्बन्धी सबै काम एकै थलोबाट ‘सिंगल विन्डो सिस्टम’मा हुन्छ । भन्सारको झन्झटिलो प्रक्रिया कम हुँदा त्यसको असर निर्यातमा पनि परेको महानिर्देशक सापकोटाको भनाई छ ।

सुधारिएको निर्यात कति दिगो ?

भन्सार तथ्यांकलाई सरसर्ती केलाउँदा सुधारिएको देखिएपनि निर्यातको ६० प्रतिशत हिस्सा आयातित खानेतेलले ओगटेको छ । जसले नेपालको निर्यातलाई विदेशबाट आयात भएको खानेतेलले नै धानेको देखिन्छ । चालू आर्थिक वर्षको ५ महिना अवधिमा नेपालबाट ६० अर्ब रूपैयाँको खानेतेल निर्यात भएको छ । यद्यपी, यही अवधिमा विदेशबाट ६१ अर्ब रूपैयाँको आयात भएको देखिन्छ । नेपालको कूल निर्यात एक खर्ब २ अर्ब रुपैयाँबाट खानेतेलको हिस्सा झिक्दा ४० अर्ब निर्यात देखिन्छ । जुन, नेपालमै उत्पादित विभिन्न वस्तुहरूको निर्यात मूल्य हो ।

यद्यपी, कूल निर्यातमा आयातित तेलले ओगटेको हिस्सालाई अध्ययन गरिरहेको महानिर्देशक सापकोटाले बताए । ‘तथ्यांक हेर्दा निर्यात सुधारिएको जस्तो देखिन्छ । सुधारिएको पनि हो । तर, यसमा धेरै हिस्सा आयातित खानेतेलले ओगटेको छ,’ उनले भने ।

उद्योगी पवन गोल्यान पनि तथ्यांक हेर्दा बढेको देखिएपनि वास्तविकतामा निर्यात नबढेको बताउँछन् । उनका अनुसार नेपालको निर्यात वृद्धि हुँदा नेपालमै उत्पादित वस्तुको हिस्सा बढी हुनुपर्नेमा आयातित खानेतेलको हिस्सा बढी छ । ‘यही कारण, नेपालको निर्यात वृद्धि भयो भनेर खुस हुनुपर्ने ठाउँ छैन,’ उनले भने, ‘विगतमा पनि भारतले खानेतेलको आयात रोक्न गरेको नीतिगत व्यवस्थाले नेपालको निर्यात प्रभावित बनेको थियो ।’ खासगरी, भारत आधारित यस प्रकारको निर्यात जुनसुकै समयमा प्रभावित बन्न सक्ने आँकलन उनको छ ।

यसैगरी, व्यापार विज्ञ रविशंकर सैजुले नेपाल सरकारको व्यापार र आयातमूखी नीति परिवर्तन नभएसम्म निर्यात व्यापार वास्तविकतामा सुधारिन नसक्ने बताए । उनले सरकारले बनाउने नीति नियमहरू नै व्यापारलाई प्रशय दिने र उद्योग/धन्दा कलकारखानालाई वेवास्ता गर्ने खालको रहेसम्म निर्यात नसुधारिने  बताए । निर्यात व्यापार सुधारिन नेपालमा प्रशस्त मात्रामा उत्पादनमूलक उद्योग स्थापना हुनुपर्ने र ती उद्योगबाट उत्पादित वस्तु सहज निर्यात गर्न मिल्ने व्यवस्था हुनुपर्ने उनको भनाई छ । त्यसैले अहिले भइरहेको खर्बौंको निर्यात भारतीय बजारमा आधारित भएकाले दिगो नभएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*