पत्रकारिता तालिम समापन, प्रदेशको औचित्यमाथि प्रश्न चिन्ह
हेटौंडा । युरोपियन युनियन र पत्रकार महासंघको संयुक्त सहकार्य तथा महासंघ मकवानपुरको संयोजनमा आयोजना भएको सात दिने आधारभूत पत्रकारिता तालिमको आज समापन भएको छ ।
गत बिहीबारदेखि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजना भएको सात दिने आधारभूत पत्रकारिता तालिमको आज समापन गरिएको हो । युरोपियन युनियन र पत्रकार महासंघको संयुक्त सहकार्यमा मकवानपुरका ४५ जना पत्रकारलाई आधारभूत पत्रकारिता प्रशिक्षण दिइएको थियो ।
तालिममा सहभागीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्व अध्यक्ष तथा प्रशिक्षक धर्मेन्द्र झाले प्रमाणपत्र प्रदान गरेका थिए । एकसातासम्म झाले प्रशिक्षण दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर महतले राजनीतिक स्वार्थपूर्ति गर्नकै लागि प्रदेश सरकारमा १४ वटा मन्त्रालय बनाएर मन्त्री र राज्यमन्त्री गरी १८ जनाको मन्त्रीमण्डल बनाइएको भन्दै प्रदेशको औचित्यमाथि प्रश्न उठाए । स्थानीय तहको मातहतमा मालपोत र नापी कार्यालय सञ्चालन हुनुपर्ने मेयर महतको माग थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले शासकका विरुद्व कलम चलाई समाज परिवर्तनमा लाग्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए । उनले तालिममा सिकेको सीपलाई पत्रकारितामा प्रयोग गरेर दक्ष सञ्चारकर्मी बन्न सहभागीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्ष भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का,पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा, राममणि दहाल, महासंघ केन्द्रीय समितिका कार्यक्रम प्रवन्धक संघर्ष पन्त तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

स्वस्तिका दाहाल











