बागमतीको नीति आयोग उपाध्यक्षमा पन्त, सदस्यमा लामिछाने

बाइलाइन नेपाल
१४ पुष २०७८, बुधबार १६:१४

बागमतीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारको गत पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

चितवन घर भएका पन्तलाई बुधबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा एक कार्यक्रम बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयबाट फेसियल डिसेन्ट्रीलाइजेशन, पब्लिक सर्भिस डेलिभरी एण्ड प्रोपर्टी विषयमा विद्यावारिधि प्राप्त गरेका पन्त विकेन्द्रीकरण तथा सार्वजनिक सेवा प्रवाहका विषयका जानकार मानिन्छन् ।नवनियुक्त उपाध्यक्ष पन्त नेकपा एकीकृत समाजवादी पार्टी निकटका हुन् ।

आयोगको सदस्यमा मकवानपुरका प्रह्लाद लामिछाने र भक्तपुरका राजु नेपाल पनि नियुक्त भएका छन् । नेपाललाई पुस १४ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त गरिएको हो । नेपाल नेपाली काँग्रेस निकट रहेका छन् । उनी काँग्रेसबाट आयोगको सदस्य बनेका हुन् ।

आयोगका सदस्य लामिछाने संविधानसभा सदस्य समेत हुन् । उनी २०६४ सालको संविधान सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्र निकट रहेका छन् ।

आयोगको अध्यक्षमा मुख्यमन्त्री स्वयं रहने व्यवस्था रहेको छ । आयोगमा अध्यक्ष र उपाध्यक्ष सहित ४ जना सदस्य गरी पाँच सदस्यीय रहने व्यवस्था रहेको छ ।

सरकारले हाल उपाध्यक्षसहित दुई सदस्यमात्रै नियुक्त भएका छन् । अन्य सदस्यहरु समावेशीता क्षेत्रबाट महिला अनिवार्य रहने गरी नियुक्त गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*