दामन र सिमभञ्ज्याङ हिउँले सेताम्य, पर्यटकको चलहपहल सुरु
मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरपालिकाको सिमभञ्ज्याङ, दामनलगायतका क्षेत्रमा हिउँ परेपछि सेताम्य भएको छ । वर्षासँगै गएरातिदेखि हिउँ परेपछि सेताम्य भएका उक्त क्षेत्र मनमोहक देखिएका छन् ।
वर्षा र हिउँका कारण स्थानीय जनजीवन कष्टकर बन्दैगएपनि होटल व्यवसायी भने उत्साही देखिएका छन् । सिमभञ्ज्याङ, दामनलगायतका यक्त क्षेत्रमा हिउँ परेको थाहा पाएपछि मकवानपुरका विभिन्न स्थानबाट हिउँ खेल उक्त क्षेत्रमा पुग्न थालेका छन् । अहिले पनि हिउँ परिरहेको स्थानीयले जानकारी दिएका छन् ।
अङ्ग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा सिमभञ्ज्याङ, दामनलगायतकाआसपासका क्षेत्रमा हिमपात भएपछि आन्तरिक पर्यटकको पनि चहलपहल बढेको छ । कोभिडका कारण थलापरेको होटल व्यवसायीहरुलाई नयाँ बर्ष को पूर्वसन्ध्यामा परेको हिमपातले केही राहत पुगेको छ । हिमपात र वर्षाका कारण थाहा नगरका कृषिमा पनि खुशी छाएको छ ।

थाहा नगरपालिकाको २ हजार ४ सय ८८ मिटर उचाईमा रहेको सिमभञ्ज्याङमा हरेक वर्ष जाडोयाममा हिउँ पर्ने गरेको छ । यस वर्ष पहिलो पटक हिउँ परेको हो ।
उक्त क्षेत्रमा परेका हिमपातले हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएका इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए । हिमपातका कारण उक्त मार्गमा यातायात सुचारु हुन सकेको छैन् ।
मकवानपुरको अन्य क्षेत्रमा लगातार हल्का वर्षा भइरहेको छ । वर्षाका कारण चिसो बढ्दा जनजीवन प्रभावित हुन पुगेको छ ।

बाइलाइन नेपाल











