आठौँ प्रयासमा डोकोभित्र फेला परे २० वर्ष कैद तोकिएका फरार अभियुक्त

बाइलाइन नेपाल
१३ पुष २०७८, मंगलवार १२:१७

सामान्य विवादमा छिमेकीलाई मुटुमा चक्कु रोपेर हत्या गरेपछि रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–४ घर भएका होम बहादुर थापा मगर भागेका थिए । २०४९ कार्तिक ५ मा छिमेकी गजुरे मगरको हत्यामा संलग्न होम बहादुरलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ ।

गएराति १ बजेतिर उनलाई दोरम्बा सैलुङ गाउँपालिका–४ गौश्वरा स्थित घरबाट उनलाई पक्राउ गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले  बताए । २०५० फागुन १६ मा रामेछाप जिल्ला अदालतले उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

गौश्वरामा उनले जंगलमा घर बनाएका थिए । घर नजिक सुराक राखेर बस्ने गरेका होम बहादुर नयाँ मान्छे गाउँमा गएको सुराक पाएपछि जंगल तर्फ भाग्थे । तर, गएराति आठौँ पटकको प्रयासमा जिल्ला प्रहरी कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय टोकरपुरबाट खटिएको टोलीले घर घेरा हालेर उनलाई पक्राउ गरेका हुन् ।

प्रहरीले घर घेरा हालेपछि उनकी पत्नीले भनिन्–‘श्रीमान् घर नआएको धेरै भइसक्यो ।’ तर, घर खानतलासी गर्दा माथिल्लो तलामा उनी डोकोभित्र लुकेको अवस्थामा भेटिए । ५५ वर्षीय होमबहादुरलाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ ।

होम बहादुरसहित चारजना मिलेर गजुरेको हत्या गरेका थिए । हत्यामा संलग्न मध्येका स्थानिय चन्द्र बहादुर मगर र गंगा बहादुर मगर कैद भुक्तान गरेर छुटेका छन् । अर्का अभियुक्त टक बहादुर मगरको मृत्यु भैसकेको छ । चार जना मिलेर घोपेको चक्कुले मुटु छेडिएर गजुरेको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*