लेनदेन विवादमा भक्तपुरमा साथीको हत्या २ जना पक्राउ
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला नजिकै युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–१ सिरुटार घर भएका ३३ वर्षीय राज श्रेष्ठको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोकबहादुर जिसीले रातोपाटीलाई बताए ।
गएराती ९ बजेर ५२ मिनेटमा बालकोट बंगलामुखीबाट हनुमन्ते खोलातर्फको फलामे पुल नजिकै श्रेष्ठ गम्भिर घाइते अवस्थामा भेटिएका थिए । मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजनका साथी हेमन्त श्रेष्ठ र प्रेम विक छन् ।
हेमन्त श्रेष्ठले राजनसँग पैसा सापटी लिएका थिए । सो पैसा माग्न थालेपछि अर्को एकजना युवकलाई प्रयोग गरेर राती हनुमन्ते खोला किनारमा बोलाएर पछाडिबाट चिपर्टले हिर्काएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका दुईजनालाई महानगरीय प्रहरी वृत्त ठिमीले अनुसन्धान गरिरहेको छ । मृतक युवा संघ भक्तपुर जिल्ला समिति सदस्य हुन् ।

बाइलाइन नेपाल











