‘हिंसा गर्दिन, सहन्न र खुलेर प्रतिवाद गर्छु’

बाइलाइन नेपाल
२२ मंसिर २०७८, बुधबार १२:५४

लिङ्गका आधारमा शक्तिशालीबाट कमजोरमाथि गरिने भेदभावपूर्ण व्यवहार नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा स्थापित असमान शक्ति सम्बन्धबाट उत्पन्न हुन्छ । महिला वा पुरुष भएकै कारण हाम्रो समाजले छुट्टयाई दिएको काम, जिम्मेवारी तथा भूमिकाहरूको आधारमा गरिने भेदभाव वा हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । अर्थात् कुनै पनि व्यक्तिलाई लैङ्गिक विभेदकारी सामाजिक मूल्य मान्यताका आधारमा गरिएको हिंसा नै लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा महिला, पुरुष वा तेस्रो लिङ्गीमाथि हुने हिंसा मात्र नभएर मानव अधिकारकै हनन हो । लैङ्गिक हिंसाको परिचर्चा गर्दा सबै अवस्थाका महिला बढी पीडित हुने परिप्रेक्ष्यमा महिलाका हक हितलाई बढी जोड दिने गरिएको छ ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । संविधानको धारा ३८ मा महिला मौलिक हक अन्तरगत महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्वन्धि हक प्रत्याभूत गरेको छ । यसका साथै, पीडितलाई क्षतिपूर्ति पाउने हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक, सकारात्मक विभेदका आधारमा विशेष अवसर पाउने हक र दम्पतीको समान हकको पनि प्रत्याभूत गरेको छ ।

तीन तहको निर्वाचनमा १४ हजार ६ सय भन्दा बढी महिला विभिन्न तहमा निर्वाचित भएका छन् । राजनैतिक संरचनामा महिलाको सहभागिता स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश तहमा ३४.५ प्रतिशत र संघमा ३३.५ प्रतिशत पुगेको छ । मुलुकमा विभिन्न फाँट र विधामा महिलाहरु सफल नेतृत्वमा काम गरिरहेका छन् । नेपाल सरकारले लैङ्गिक हिंसा अन्त्यका लागि नीतिगत, संस्थागत तथा कानुनी व्यवस्थाका साथै विभिन्न अभियानमूलक र सचेतनात्मक कार्यक्रमहरु सञ्चालनसमेत गर्दै आइरहेको छ ।

सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसा विरुद्धको विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर ९ गतेदेखि २५) सम्म मनाइदै आएको छ । नेपालमा २०५४ सालदेखि देशव्यापी रुपमा यो अभियान सञ्चालन गरिदै आएको छ । यस वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा “घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने नारा रहेको छ । अभियानकर्मीहरु विभिन्न रचनात्मक, सन्देशमूलक कार्यक्रम गरी सक्रिय एवं सशक्त रुपमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा जुटिरहेका छन् । ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको खुलेर प्रतिवाद गर्छु’ भन्ने मूल सन्देश दिएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लैंगिकताको आधारमा हुने सबै प्रकारका हिंसा, विभेद, कुरीति, अन्धविश्वास, अपराध, हत्या, बहिष्करण र बञ्चितिकरणलाई अन्त्य गर्दै महिला र पुरुषबीच हुने गरेका सबै किसिमका खाडल, विभेद र असमानता हटाउने मुख्य उद्देश्य रहेको छ । यसका अतिरिक्त सबै लिङ्गका मानिसहरुलाई विना विभेद सम्मानित जीवनयापन गर्न सक्षम बनाउनु पनि हो । यस अभियानबाट परिवार, समाज, राष्ट्र तथा विश्वमा नै लैङ्गिक हिंसारहित तथा समतामूलक समाज निर्माणका खातिर लागि परेको पाइन्छ । अभियानबाट प्राप्त उपलब्धिहरुको रक्षा, गरेका असल अभ्यासहरुको अनुशरण, नतिजाहरुको समीक्षा तथा भावी मार्गचित्र एवं रणनीतिहरु निर्माण गर्न सघाउँदछ ।

“हिंसा भनेको आफ्नै विरुद्ध, अर्काे व्यक्तिका विरुद्ध वा कुनै समूह तथा समुदायका विरुद्ध कसैले भौतिक शक्तिको नियतवश प्रयोग गर्ने धम्की दिनु वा प्रयोग गर्नु हो, जसको परिणामले पीडित घाइते हुने, उसको मानसिक तथा शारीरिक क्षति पुग्ने, व्यक्तिगत विकासमा अवरोध पुग्ने तथा मृत्यु हुने हुन्छ या यस्ता खतराको संभावनालाई बढाउँछ ।” हिंसाको प्रकृति र अवस्था हेर्दा शारीरिक, मनोवैज्ञानिक, सामाजिक, जातीय, लैङ्गिकतामा आधारित, आर्थिक, यौनिक हिंसा आदि पर्दछन् । अर्को अर्थमा हिंसा भन्नाले कुनै पनि व्यक्तिलाई कुनै पनि प्रकारले शारीरिक, मानसिक, सामाजिक तथा यौनजन्य वा अन्य कुनै पनि तरिकाले दुःख, पीडा, हानी, नोक्सानी पुर्याउने निर्मम कार्य हो ।

हिंसाका केही कारणहरु रहेका छन्, जसमा पितृसत्तात्मक सोच र मान्यता, शिक्षा र चेतनाको कमी, कानुनको अपर्याप्तता र फितलो कार्यान्वयन, धर्म र जातका नाममा गरिने गलत क्रियाकलापहरू, राजनीतिक संक्रमण एवं तरल अवस्था र अस्थिरता, हिंसा सहेर पनि बसिरहने संस्कृति आदि पर्दछन् । समाजमा व्याप्त कुरीति, कुसंस्कार मानव सभ्यताका लागि कंलकको रुपमा छन् । छुवाछुत, दूव्र्यवहार, बेचविखन, श्रम शोषण, हत्या, यौनजन्य दूव्र्यवहार, बलात्कार, एसिड आक्रमण, छाउपडी, दाइजोका नाममा भएका हिंसा आदि जस्ता असभ्य, अलोकतान्त्रिक, असम्मानित कुराहरुले हिंसाका रुप लिइरहेका छन् ।

घरेलु हिंसा

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ का अनुसार ‘घरेलु हिंसा’ भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ ।” घरेलु हिंसा आफ्नै घरपरिवार, आफन्त वा नजिकको सदस्यभित्रबाट हुन्छ । यसबाट घर परिवार भित्रका एक सदस्यले अन्य सदस्यलाई शारीरिक, मानसिक तथा संवेगात्मक चोट पुग्न सक्छ, जसको कारणले शिक्षा, स्वास्थ्य तथा सर्वाङ्गीण विकासमा असर पर्दछ । घरेलु हिंसा जसलाई पनि हुन सक्छ र घर भित्रको जो कोही सदस्यले पनि गर्न सक्छ, जुन सिँगो परिवारको लागि हानिकारक हुन्छ ।

सबै पुरुष पीडक होइनन्, घरेलु हिंसा न्यूनीकरण गर्न पुरुषको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । घरेलु हिंसा भन्नाले घर परिवारभित्र कुनै एक व्यक्ति वा बढी मिलेर परिवारको एक वा धेरै जनामाथि गर्ने अन्याय, अत्याचार हो । परिवारभित्र कुनै सदस्यले बालबालिका वा महिलामाथि गर्ने भेदभाव, अन्याय, हेलचेक्राइँ, अत्याचार, शारीरिक यातना, मानसिक चोट, यौन दुव्र्यवहार, धम्की, डर त्रास देखाउने कार्य पर्दछन् । जबसम्म घरेलु हिंसा न्यूनीकरण घर र ब्यक्तिबाट हुँदैन, तबसम्म यस्ता अभियान सार्थक हुँदैन ।

महिलाहरु आशनमा, भाषणमा र शासनमा हुँदैमा मात्र पनि लैङ्गिक हिंसाका घटना आशातीत रुपमा न्यून नहुने रहेछ भन्ने पाठ कानुनी प्रावधानबाट सिकिएको छ । दूरदराजमा रहेका भूँई तहमा जबसम्म सामाजिक अभियान पुग्दैन, लैङ्गिक संवेनशीलता सबै तह र वर्गमा पुग्दैन, तबसम्म अभियान केवल जात्रा, चाडबाड जस्तो मात्र हुनेछ । आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक तहमा अभियान पुर्याइ राज्य र समाज दुवै सार्थक, सक्रियमा भएमा मात्र मूल ध्येय र मर्म पूरा हुनेछ ।

संवैधानिक प्रावधान, लैङ्गिक अधिकारहरु कार्यान्वयन गराउन सामाजिक र आर्थिक रुपान्तरण गर्न ठोस कार्ययोजना तय गरी निर्मम कार्यान्वयन गर्नुपर्दछ । लैङ्गिक हिंसासम्वन्धि भएका घटनाहरुको निष्पक्ष छानबिन गरी अपराधीलाई कानुनी कठाघरामा ल्याउनु पर्दछ । कसैको राजनैतिक शक्ति, सामाजिक हैसियत जस्ता विभिन्न रूपको आधारमा संरक्षण गरी छुटकारा दिने अपराधिक काम शुन्य बनाउनु पर्दछ । जधन्य अपराधीहरुलाई कानुनी कारबाहीका साथ सामाजिक बहिष्कार गर्ने अभ्यासको थालनी गर्नु पर्दछ । लैङ्गिक हिंसाको सूचना तत्काल दिने र लिने, अनुसन्धानलाई चुस्त दुरुस्त बनाइ सबै सरोकारबालाहरुको ऐक्यवद्धतासहित कारबाही गर्न सकेमा लैङ्गिक हिंसा न्यून हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*