आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई

बाइलाइन नेपाल
२९ कार्तिक २०७८, सोमबार ०७:४६

डेबिड वार्नर र मिचेल मार्शको अर्धशतकप्रेरित अस्ट्रेलियाले आइतबार राति छिमेकी प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ ।

दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको थियो । १७३ रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेट गुमाएर पुरा गर्दै उपाधि पक्का गर्‍यो ।

अस्ट्रेलियाले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको यो पहिलो पटक हो । अस्ट्रेलियाले वेस्ट इन्डिजमा सम्पन्न २०१० को विश्वकपमा पनि फाइनल खेलेको थियो । तर, त्यतिबेला अस्ट्रेलियाले चीर प्रतिद्वन्द्वी इङ्ल्यान्डसँग सात विकेटले पराजित भएपछि उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

न्युजिल्यान्डको भने यो पहिलो फाइनल थियो । उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भयो । केन विलियम्सनको नेतृत्वमा रहेको न्युजिल्यान्डले २०१९ को एकदिवसीय विश्वकपमा पनि फाइनल खेलेको थियो । त्यतिबेला न्यजिल्यान्ड इङ्ल्यान्डसँगै सुपर ओभरमा हारेको थियो । यसअघि न्युजिल्यान्डले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो । लगातार दोस्रो उपाधि जित्ने न्युजिल्यान्डको लक्ष्य भने पूरा हुन सकेन ।

यसअघि वेस्ट इन्डिजले दुईपटक तथा भारत, पाकिस्तान, इङ्ल्यान्ड र श्रीलंकाले एक–एक पटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेका छन् ।

१७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले सुरुमै विकेट गुमाएको थियो । अस्ट्रेलियाले १५ रन जोड्दा कप्तान एरोन फिन्च पाँच रन बनाएर पवेलियन फर्किएका थिए । त्यसपछि मिचेल मार्श र डेबिड वार्नरले दोस्रो विकेटका लागि ५९ बलमा ९२ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ उकासे ।

वार्नरले ३८ बलमा चार चौका र तीन छक्कासहित ५३ रन जोडे । १२.२ ओभरमा वार्नर आउट हुँदा अस्ट्रेलिया १०२-२ को स्थितिमा थियो । वार्नरले जारी विश्वकपमा २८९ रन बनाए । त्यसपछि मार्श र ग्लेन म्याक्सवेलले तेस्रो विकेटका लागि ३९ बलमा ६६ रनको अविजित सझोदारी गर्दै अस्ट्रेलियाको जित पक्का गरे । मार्श ७७ र म्याक्सवेल २८ रनमा अविजित रहे ।

त्यसअघि न्युजिल्यान्डका लागि कप्तान विलियम्सनले ४८ बलमा तीन छक्का १० चौकासहित ८५ रन बनाएका थिए । ओपनर डरेल मिचेल ११ रन बनाएर आउट भएपछि क्रिजमा आएका विलियम्सनले अर्का ओपनर मार्टिन गुप्टिलसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । गुप्टि २८ रनमा पवेलियन फर्किएका थिए ।

त्यसपछि विलियम्सनले ग्लेन फिलिप्ससँग तेस्रो विकेटका लागि ३७ बलमा ६८ रनको साझेदारी गरे । फिलिफ्स १८ रन बनाएर आउट भए । त्यसलगत्तै कप्तान विलियन्सन पनि ८५ रन बनाएर आउट भएका थिए ।

त्यसपछि जेम्स नीसम र टिम सेइफर्टले पाँचौँ विकेटका लागि १३ बलमा २४ रनको अविजित साझेदारी गरेका थिए । अस्ट्रेलियाका जोश हाजलेउडले तीन विकेट लिँदा एडम जम्पाले एक विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*