भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण योजना स्थगित

बाइलाइन नेपाल
२७ कार्तिक २०७८, शनिबार १५:४९

हेटौंडा । वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको छ । एमालेका डोरमणि पौडेल नेतृत्वको सरकारले प्रदेशको गौरवको योजनामा राखेको र वर्षैदेखि निर्माणको चर्चा रहेको सुरुङमार्ग गठवन्धनको सरकारले तत्काल नबनाउने निर्णय गरेको छ ।

गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे नेतृत्व सरकारले सुरुङमार्ग तत्काल निर्माण हुन नसक्ने बताउँदै स्थगित गरेको हो । मुख्यमन्त्री पाण्डेका अनुसार निर्माणका लागि केन्द्र सरकारसँगको सहकार्य र लगानी अन्यौलमै रहेको अवस्थामा प्रदेश सरकारलेमात्र सुरुङमार्ग निर्माण गर्न नसक्ने बताए ।

सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरेको पाण्डेले बताए ।

उनका अनुसार प्रदेश सरकारले प्रदेशका सबै सामुदायिक विद्यालयबाट एसईई पास गरेका छात्राहरुलाई प्रदेश सरकारले आफ्नै खर्चमा प्लस २ पढाउने तयारी छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई प्रदेश सरकारले ३ र ६ महिना तालिम दिएर दक्ष जनशक्ति बनाएर मात्र पठाउने योजना बनेको छ ।

यसैगरी वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि विद्युतीय बस सञ्चालनको घोषणा गरे पनि खरिद प्रक्रिया पनि रोकेको छ । पूर्वाधारको तयारी नहुँदै ‘कमिसन’को चक्करमा लागेर अघिल्लो सरकारले विद्युतीय बस सञ्चालन गर्न खोजेको भन्दै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले सम्पूर्ण प्रक्रिया तत्कालका लागि रोकेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*