वाग्मती प्रदेशमा सरकार सञ्चालन गर्न दुलालको संयोजकत्वमा कार्यदल
हेटौंडा । वाग्मती प्रदेशको सरकार सञ्चालनका लागि केन्द्रमा जस्तै कार्यदल गठन गरिएको छ । सत्तारुढ गठबन्धनका दलहरूको बैठकले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री युवराज दुलालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।
कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली काँग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली रहेका छन् । गठबन्धनको सरकार सञ्चालनमा सहजीकरणका लागि कार्यदल गठन गरिएको जनाइएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन गरिएको हो ।
कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति, सहकार्य एवं समझदारी कायम गर्ने र सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी, भ्रष्टाचार शून्य बनाउने लगायतका काम गर्ने संयोजक दुलालले बताए ।

बाइलाइन नेपाल











