वाग्मती प्रदेशसभाको बैठक भोली, मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने
हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक भोली कात्तिक २२ गते ( सोमबार) बस्ने भएको छ । भोली बस्ने बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने जनाइएको छ।
मुख्यमन्त्रीका निजी सचिव अच्युत लामिछानेले सोमबार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ लामिछानेले बताए । उनका अनुसार विश्वासको मत लिएर मात्र मन्त्री परिषद्लाई पूर्णता दिने तयारी छ । तर सभामुख सानुकुमार श्रेष्ठले भने भोलीनै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए मात्र पर्सी पनि हुनसक्ने जनाए ।
कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका नेकपा (एकीकृत) समावजादी संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकारले सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सभामुखसहित प्रदेशसभामा १०९ मत रहेको छ । सरकार टिकाउन ५५ मत भए पुग्छ । गठबन्धनमा रहेका दलहरुसँग ५९ मत रहेको छ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, नेकपा (एस) १३ र जनता समाजवादीसँग १ मत रहेको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशमा हाल कायम रहेका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयासमा छन् ।
माओवादी र कांग्रेसले चार, चार मन्त्रालय र एक, एक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकारले मन्त्रालय फुटाउने तयारी गरिरहेको छ । सरकारले पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेको छ । पहिलो चरणमा उनले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् ।
भाडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशमा मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने र चारजना राज्यमन्त्री पनि नियुक्त गर्ने गरी सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ ।

बाइलाइन नेपाल











