हेटौंडामा भव्य रुपमा मनाइयो नेपाल संवत् ११४२
हेटौंडा । हेटौंडामा नेवार समुदायहरुले नेपाल सम्वत (नयाँ वर्ष ) ११४२ भव्य रुपमा मनाएका छन् । हेटौंडामा रहेका नेवार समुदायले परम्परागत कपडा लगाएर र्यालीसहित विभिन्न कार्यक्रम आयोजना गरेर नेपाल सम्वत मनाएका हुन् ।
हेटौंडाको मुख्य बजार क्षेत्र पिपलबोटबाट र्याली निकालेर बजारका विभिन्न स्थानको परिक्रम गरि पुनः पिपलबोटमै पुगेर नेपाल सम्वत मनाइएको थियो । हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । कार्यक्रममा विभिन्न क्षेत्रका महानुभावको समेत सहभागिता रहेको थियो ।

यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाएका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ इ सं ८८०० मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।
लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् रहेको नेवारी समुदायहरुको भनाई छ ।
२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा हेटौंडामा नेवार समुदायको बाहुल्यता कम रहेपनि यसलाई भव्य रुपमा मनाइएको हो ।
गरिब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षको दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा समेत काठमाण्डौमा अझै छ ।
यसैबीच, आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवी देवता पनि प्रसन्न भएर आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

बाइलाइन नेपाल











