महाकविको स्मृतिमा साहित्यकार अधिकारी र आचार्यलाई सम्मान, कवितामा गोकर्ण प्रथम

बाइलाइन नेपाल
१८ कार्तिक २०७८, बिहीबार १७:१९

हेटौंडा । साहित्य संगम मकवानपुर र युग प्रकाश क्लबको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती मनाइएको छ । हरेक वर्ष जस्तैं हेटौंडा–११ त्रिभुवन माविमा रहेको महाकवि देवकोटाको प्रतिमा स्थलमा कार्यक्रम आयोजना गरिएको थियो ।

खुला कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रममा मकवानपुरका दुईजना अग्रज साहित्यकारलाई सम्मान गरिएको थियो । देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्यकार रमेशमोहन अधिकारी र ह्याग्रीव आचार्यलाई नगद १०/१० हजार रुपैयाँसहित देवकोटा स्मृतिबाट सम्मान गरिएको हो । देवकोटा स्मृति २०७७ बाट अधिकारी र २०७८ बाट आचार्यलाई सम्मान गरिएको छ।

कार्यक्रममा आयोजना गरिएको खुला कविता प्रतियोेगितामा .गोकर्ण मोक्तान प्रथम भएका छन् । यसैगरी प्रतियोगितामा रोश्नी चौलागाईं द्धितिय, रजनी अधिकारी तृतीय र सुस्मिता ढुंगाना र सम्पर्ण न्यौपानेले सान्त्वना भएका थिए । प्रतियोगितामा विजयीहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमाण पत्र प्राप्त प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा साहित्यकार श्यामकुमार बानियाँ, शान्तिप्रिय वन्दना र मसान उपासक रहेका थिए ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले देवकोटाको बारेमा जानकारी बोलेका थिए । यस्तै साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले कार्यक्रममा सहभागीलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, ११ नम्बर वडा सदस्य रामचन्द्र न्यौपाने, जुना दाहाल, त्रिभुवन माविका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीको पनि उपस्थिति रहेको थियो ।

पुरस्कार वितरण समारोह अघि हेटौंडा–११ स्थित शहीद स्मारक परिसरबाट त्रिभुवन माविसम्म प्रभातफेरिको आयोजना गरिएको थियो । कार्यक्रममा त्रिभुवन मावि परिसरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको प्रतिमामा माल्र्यापण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*