फेसबुकको नयाँ नाम ‘मेटा’ बारे कस्तो प्रतिक्रिया आइरहेको छ ?
सीएनएन । फेसबुकले आफ्नो कम्पनीको नयाँ नाम ‘मेटा’ भएको घोषणा गरेसँगै इन्टरनेटमा यसबारे अनेकौँ प्रतिक्रिया आइरहेका छन् ।
जस्तै एक प्रयोगकर्ताले ट्वीट गर्दै, हामीलाई थाहा भएको एक मात्र मेटा यही हो भनेर एनबीए खेलाडी मेटा वल्र्ड पिसको तस्बिर पोस्ट गरेका छन् । कमेडी लेखक म्याट ओस्वाल्टले अर्को त्यस्तै व्यंग्यात्मक ट्वीट गरेका छन्, “मेटा भनेको छोटकरीमा, मैले हाइ स्कुलमा पढ्दा एउटी केटीलाई भेटेको थिएँ जो मलाई असाध्यै मन पथ्र्यो र वर्षौँपछि मैले उसलाई फेसबुकमा खोप विरोधी लिङ्क र टम ह्यांक्स सम्बन्धी काल्पनिक थेउरीहरु पोस्ट गरेको देखेँ । ”
अर्का एक निर्देशक, एडम ल्यान्स ग्रासिआले ‘मेटालाई ल्याउन नखोज’ भनेर लेख्दै २००४ को हिट फिल्म ‘मिन गल्र्स’ को एउटा तस्बिर राखेका हुन् ।
फेसबुकले अब आफ्नो कम्पनी भविष्यको इन्टरनेट मानिएको, ‘मेटाभर्स’ मा बढी केन्द्रित रहने बताउँदै कम्पनीको नाम रिब्रान्ड गराएको हो । मेटाभर्सले भर्चुअल दुनियाँलाई ‘अगुमेन्टेड रियालिटी’ अर्थात एआर प्रविधिसँग जोड्दछ ।
त्यसैगरी उता क्यानडाको अर्को एक ‘मेटा मटेरियल्स’ नामक कम्पनीसँग फेसबुकको नाम जुध्न पुगेपछि सो कम्पनीको शेयर ३० प्रतिशतले वृद्धि भएको खबर पनि बाहिर आएको छ । फेसबुकसँग कुनै सम्बन्ध नभएपनि नाममा झुक्किँदा यस्तो भएको बताइएको छ ।
अमेरिकी सिनेटरहरुले चाहिँ फेसबुक जति भाग्न खोजेपनि आफ्ना गलत कामबाट लुक्न नसक्ने र यसले कम्पनीका नराम्रा कामहरुलाई नमेटाउने बताएका हुन् ।
यसअघि आन्तरिक डक्युमेन्ट लिक भएपछि कम्पनीले वास्तविक समस्याहरुको पनि सामना गरिरहेको छ । गलत सूचना प्रवाह, घृणात्मक पोस्ट नियन्त्रण जस्ता मुद्दाहरुमा यसले विश्ववयापी दबाब खेपिरहेको छ ।
यस्तोमा फेसबुक कम्पनीको नयाँ नाम मेटालाई केहीले एकदम हलुका रुपमा लिएर ठट्टा गरिरहेपनि कतिले चाहिँ गम्भीर आलोचना गरेका छन् । फेसबुकलाई मेटाको नाम दिनुले कुनै समस्या समाधान नगर्ने तिनको भनाइ छ । र कतिपय कम्पनीहरुले नै यो नयाँ नामको मजाक बनाइरहेका छन् ।

बाइलाइन नेपाल











