आज हावाहुरीसहित भारी वर्षाको सम्भावना

बाइलाइन नेपाल
१ कार्तिक २०७८, सोमबार ०७:५७
फाइल तस्वीर

थप केही दिन नेपालको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका(उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने भएको हो ।

आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा प्रदेश १ (मंगलबारदेखि) का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा मेघ गर्जन/चट्यांग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौंमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासी बताउँछिन् । “काठमाडौंमा आज दिनभर मौसम बदली हुन्छ । बदली भएर दिउँसो पानी पर्ने सम्भावना छ,” उनले भनिन्, “ठूलो भारी वर्षाको सम्भावना त काठमाडौंमा छैन तर काठमाडौंमा घाम लाग्ने सम्भावना आज कमै छ ।”

बुधबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा मेघ गर्जन÷चट्यांग र हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको पनि सम्भावना रहेको छ । त्यसैले सजग रहन विभागले आग्रह गरेको छ । विशेषतः यात्रा र कृषि कर्म गर्दा मौसमको सूचना हेरी सजग रहन विभागले आग्रह गरेको छ ।

मनसुन बाहिरिए पनि नयाँ मौसम प्रणाली विकास भएका कारण पुनः वर्षा र हिमपातको सम्भावना रहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*