भीमफेदीको ऐतिहासिक हात्तीसारको रूप फेरिँदै

बाइलाइन नेपाल
३१ आश्विन २०७८, आईतवार १२:४२

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा उपयोगविहीन अवस्थामा रहेको ऐतिहासिक सम्पदा हात्तीसारको संरक्षणसहित पर्यटकीय गन्तव्य बनाइँदै छ । वाग्मती प्रदेश सरकारले चितवन राष्ट्रिय निकुञ्जको अधिनमा रहेको हात्तीसारलाई आफ्नो मातहत ल्याई संग्रहालयको रूपमा संरक्षण गर्ने र स्वदेशी एवं विदेशीहरूको आकर्षणको केन्द्र बनाउने योजनाअनुरूपको काम भइरहेको हो ।

संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको हात्तीसारको प्रवेशद्वारबाटै संरक्षणको काम थालिएको छ ।

डिभिजन वन कार्यालयमार्फत ९७ लाख रुपैयाँ खर्चेर गत आर्थिक वर्षमा पर्खाल निर्माण, तत्कालीन बेलायतकी महारानी एलिजावेथ द्धितीय र तत्कालीन राजा महेन्द्रसहित जंगबहादुर राणाले शिकारका लागि प्रयोग गरेका हौदा संरक्षण गरिएको छ । परिसरमा बगैंचा बनाइएको छ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायका अनुसार ३२ रोपनी जग्गामा फैलिएको हात्तीसार प्रवेशसँगै आगन्तुकले फोटो खिच्न मिल्नेसहित २ वटा हात्तीको मूर्ति बनाउने र ति हात्तीमाथि महारानी एलिजावेथ द्धितिय र जंगबहादुर राणाको शालिक निर्माण गर्ने योजना छ । यसका लागि चालु आवमा प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सन् १९५२ मा तत्कालीन राजा महेन्द्रको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी बेलायती महारानी एलिजाबेथ द्धितीयले हात्ती चढेर चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा सयर गरेकी थिइन् । ‘महारानी एलिजाबेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुर राणाले प्रयोग गरेका पिँजडा हौदा छन्,’ संग्रहालयका हेरालु भरतसिं लामाले भने, ‘शिकारीको संरक्षणमा जाने भारदारी र खानपानको व्यवस्था गर्नेहरु बस्ने सुसारे हौदासहित सबै गरेर ४२ वटा हौदा यहाँ राखिएको छ ।’

त्रिभुवन राजपथ बन्नुअघि स्वदेशी र विदेशी उच्च पदस्थ अधिकारी तथा पर्यटकहरु भीमफेदीबाट हात्ती चढेर शिकार खेल्न चितवन र पर्सा निकुञ्ज जाने गर्थे । ‘त्यतिबेला भीमफेदीको चहलपहल धुनधान थियो, बाटोमा हात्ती आउजाउ गरिरहन्थे,’ भीमफेदी सुपिङका ८१ वर्षीय नलशिह लामाले सम्झिए, ‘हात्तीसारमा १०–१५ वटासम्म हात्ती हुन्थे । अहिले सुनसान छ ।’ भीमफेदी–६ स्थित हात्तीसारमा हौदाहरु राख्न अर्को छुट्टै भवन पनि छ ।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार २०४५ सालसम्म राजपरिवारका सदस्यले शिकार खेल्न यहाँबाट हौदालगायत सामग्रीहरू लैजाने गर्थे । ‘बहुदल आएपछि मात्रै यस्ता सामग्री प्रयोग गर्न छाडेका हुन्,’ उनले भने । ऐतिहासिक यो स्थलको संरक्षण र प्रचारप्रसार गर्नु जरुरी रहेकोमा उनले जोड दिए । तर यसअघि यसको संरक्षणमा उतिसारो चासो दिइएको थिएन । २०६५ मा स्थानीय भरतसिंह लामालाई चितवन निकुञ्जले हात्तीसारको हेरालुको रुपमा खटाएको थियो । उनी अहिले पनि यही काजमा छन् तर हात्तीसार संरक्षणमा गत वर्षसम्म अरु केही पनि काम भएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*