वाग्मती प्रदेशले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने
वाग्मती प्रदेशको खेलकुद विकास परिषद्ले आगामी पुसदेखि माघसम्म प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । वाग्मती खेलकुद परिषद्ले प्रदेशकै सबैभन्दा ठुलो कार्यक्रम गर्नका लागि दुई वर्षदेखि नै तयारी गरेको थियो ।
असोज १५ गते प्रदेशका सामाजिक विकास मन्त्री बिजय सुवेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरे पनि आज सार्वजनिक गरिइएको हो ।
प्रदेश खेलकुद विकास परिषद्को विनियोजित दुई करोड रुपैयाँमा ४ करोड ५४ लाख रुपैयाँ प्रदेश सरकारसँग माग गरी ६ करोड ५४ लाखको अनुमानित रकममा प्रतियोगिता आयोजना गरिने भएको हो । स्थानिय, जिल्ला र प्रदेश गरी तीन चरणमा हुने उक्त प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ र ब्याडमिन्टन समावेश हुनेछन् ।
स्थानीय तहले छनोट प्रतियोगिता गरेर टिम बनाई जिल्ला प्रतियोगिताको लागि सहभागी गराउनु पर्नेछ । जिल्ला टिममा व्यक्तिगत स्पर्धामा खेलिने खेलबाट विजेतालाई छनोट गरिने छ भने सामूहिक खेलमा विजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडी मध्येबाट जिल्ला टिम तयार गरि प्रदेशमा सहभागी गराइनेछ । प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिता गर्न आठ लाख रुपैयाँ अनुदान प्राप्त गर्नेछन् ।
आगामी फागुनमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यसै प्रदेश खेलकुदबाट खेलाडी छनोट गर्ने वाग्मती खेलकुद परिषद्ले जनाएको छ । त्यसकारण पनि उक्त प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुदअघि नै सम्पन्न गर्ने तयारी भएको छ ।
प्रतियोगितामा क्रिकेटबाहेक सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् । झण्डै एक महिना चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि आयोजना गरिने परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले बताए ।

बाइलाइन नेपाल











